यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर


२०८० बैशाख २७ बुधबार ०७:२३ बजे

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दा क्रिमिनल कोर्टमा नभई सिभल कोर्टमा चलिरहेकाले पीडितले भनेजस्तो एक डिपार्टमेन्टल स्टोरमा क्यारलको बलात्कार भएको भने अदालतमा पुष्टि नभएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

दुई सातासम्म म्यानहटन फेडरल कोर्टमा जारी यस सुनुवाइमा आरोपित ट्रम्प भने उपस्थित भएका थिएनन् । उनले सुरुदेखि नै उक्त आरोप मिथ्या भएको दाबी गर्दै आएका छन् । अबको राष्ट्रपतीय निर्वाचनमा लड्नका लागि ट्रम्पलाई यो फैसलाले ठूलो धक्का पुगेको आंकलन गरिएको छ ।

अदालतले क्यारललाई ३० लाख अमेरिकी डलर मानहानी गरेबापत र बाँकी २० लाख अमेरिकी डलर यौन दुर्व्यवहार गरेबापत गरी कूल ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको हो । यस फैसलालाई उनले निजी सामाजिक सञ्जाल ट्रुथमार्फत प्रतिक्रिया समेत दिएका छन् । आफूमाथि आरोप लगाउने महिलाको बारेमा आफूलाई थाहा नभएको भन्दै उनले लेखेका छन्‚ ‘मलाई आरोप लगाउने महिला को हो भन्नेसम्म पनि थाहा छैन । अदालतको यो फैसला अपमानजनक छ ।’

पूर्व राष्ट्रपति ट्रम्पका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा यसलाई डेमोक्रेटिक पार्टीको ट्रम्पविरुद्धको ‘अभियान’ भएको र राजनीतिक प्रभावमा गरिएको झूठो मामिला भएको आरोप लगाइएको छ । ट्रम्पको टिमले भने यो फैसलाको विरुद्ध अपिल गर्ने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७