तलव र ज्यालाले धान्नै नसक्ने मूल्यवृद्धि, काठमाडौंमा सबैभन्दा बढी


२०८० बैशाख २७ बुधबार ०७:४७ बजे

काठमाडौं । गत चैतमा उपभोक्ता मूल्य वृद्धिदर ७.७६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्कले देखाएको छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धिदर औसत ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य तय गरेको थियो ।

चालु आर्थिक वर्षका सबै महिनामा मूल्यवृद्धिदर ७ प्रतिशतभन्दा धेरै छ भने नौ महिनाको औसत मूल्य वृद्धिदर ७.९१ प्रतिशत छ । गत फागुनको तुलनामा चैतको मूल्य वृद्धिदर ०.३२ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ७.२८ प्रतिशत थियो ।

नौ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ८.४२ प्रतिशत छ । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.६८, मरमसलाको १४.६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२, फलफूलको ११ र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९, घरायसी उपयोगका वस्तुहरुको ९.५४, मनोरञ्जन तथा संस्कृतिको ८.८१, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ र शिक्षाको ८.६७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७