फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो


२८ बैशाख २०८०, बिहीबार
Jawalakhel 21683807720

काठमाडौं । फ्रेन्ड्स क्लबविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आज (बिहीबार) च्यासल रंगशालामा सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन एन्कोटो मोसाबीले दुई गोल गर्दा राहुल र फोडे फोफानाले समान एक गोल गरे । फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले एक गोल फर्काए । खेलको २५औँ मिनेटमा राहुलको गोलबाट जावलाखेलले अग्रता बनाएको थियो । त्यसको ६ मिनेटपछि मोसाबीले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६४औँ मिनेटमा मोसाबीले नै जावलाखेलको अग्रतालाई ३–० मा पुर्‍याए ।

खेलको ८०औँ मिनेटमा श्यामले गोल गरेपछि फ्रेन्ड्सले अग्रतालाई ३–१ मा झारेको थियो । तर, इन्जुरी टाइममा फोफानाले गोल गरेपछि जावलाखेलले ४–१ को जित निश्चित गर्‍यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । जावलाखेलले शीर्ष स्थानमा चर्च ब्वाइज युनाइटेडलाई पछि पारेको हो । १६ खेलबाट ३० अंक नै जोडेको भए पनि चर्च दोस्रो स्थानमा छ । यता, तालिकाको ११औँ स्थानमा रहेको फ्रेन्ड्सले १७ खेलबाट १९ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७