भुजुङ गुरुङको बयान : सुन तस्करी थालेको ३५ वर्ष जति भयो (हेर्नुस् जस्ताको तस्तै बयान)


२० बैशाख २०७५, बिहीबार
Screenshot 11 32

काठमाडौं, २० बैसाख । साढे ३३ किलो सुन तस्करीले नेपाल यस पटक तातिएको भए पनि सुन तस्करी यस पटक मात्र भएको होइन् । सुन तस्करीले पञ्चायतकालदेखि नै निरन्तरता पाइरहेको छ । चुँडामणि उप्रेती ‘गोरे’ पछिल्लो पटक ‘गोल्ड डन’ बनेर देखिए पनि सुन तस्करी पुस्तान्तरण हुँदै आएको रोग हो । सुन तस्करीमा शुरुका दिनमा दरबार नजिकका मानिसहरु देखिने गरेको भए पनि सुन तस्करीको सिको अन्य तस्करहरुले पनि सिकेको घटनाहरुले देखाएको छ ।

Screenshot 11 32
सुन तस्करी काण्डमा पक्राउ परेको भुजुङ गुरुङ । तस्विर : सामाजिक सञ्जाल

२०४० सालदेखि कारोबार गरेका हौं : भुजुङ गुरुङ

साढे ३३ किलो सुन काण्डमा पक्राउ परेका भुजुङ गुरुङले सोल्टी होटल नजिकैको ग्राण्ड होटेलका साहुजीसँग मिलेर ०४०–०४५ सालदेखि विमानस्थलबाट सुन भित्र्याउने गरेको वयान दिएका छन् ।

भुजुङको बयान जस्ताको तस्तै

मलाई यकिन मिति याद भएन, वि.सं. ०४०–४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल फर्कने क्रममा चिनजान भएका थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो । निजहरुले पहिलेदेखि नै सोल्टी होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोवार गर्ने गरेका र निजहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।

यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौं । उक्त सुन खरिदका लागि हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूका नेपालमै रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको सोध भर्ना वापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने र सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।
यसरी सुनको कारोवार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं । हामीले उक्त सुन निजहरुलाई दिएपछि उनहरुले को–कसलाई दिने गरेका थिए, मलाई थाहा भएन ।

सन १९९० (बिसं.०४८) भन्दा अगाडि बसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सको काम छाडेपछि तत्कालका लागि हामीले सुनको कारोवारमा केही असहज महसुस गरी सुनको कारोवार बन्द गरी हामीहरु अन्य व्यवसाय गरी बस्यौं । सन् २०१३ (बि.सं.०६९) देखि हुनुपर्छ म, गोरे भन्ने चँुडामणि उप्रेती, मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङ वाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाललगायतका मानिसहरुवीच भेटघाट तथा छलफल भई पुनः सुन तस्करी गर्ने योजना बनाइयो ।

योजना मुताविक मैले गोपालकुमार श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरी सुन तस्करीको कारोबार गर्ने योजना बनायौ । विमानस्थलबाट के कसरी सुन बाहिर निकाल्ने भनी निजसँग सल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएर जाने भनी योजना बनाई सोही मुताविक सुन तस्करीको कारोबार गर्न थाल्यौं ।

यसरी सुनको तस्करी गर्ने क्रममा एमके भन्ने मोहनकुमार अग्रवाल र निजका तीन जना मैले नाम थाहा नपाएका दाजु भाइहरु, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमा संलग्न रहेका थिए । सुन तस्करीका लागि एमके भन्ने मोहनकुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुका नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम वापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँ हाम्रो आफ्नो रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याउन थाल्यौं ।

त्रिभुवन विमानस्थलमा त्यहाँ थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर पहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर र वीरेन्द्रमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेका थिए । यसबीचमा मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटाव समेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठलाई अबदेखि मेरो घरमा नआउनु, तर मेरो मान्छेले भनेको स्थानमा गएर सामान छाड्नु भनें ।

त्यसपछि निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चुँडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिले देखाए बमोजिम गोरे भन्ने चुँडामणि उप्रेती लगायतले सञ्चालन गरेको अनामनगरस्थित अफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पुर्‍याउन थाले ।
गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिएँ ।

यसरी सुनको कारोवार गर्ने क्रममा एमके भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिलेकाहीं मेरो र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चुँडामणि उप्रेतीको लगानी रहेको सुन समेत ल्याउने गरेका थियौं ।

गोरेको लगानी रहेको सुन गोरे भन्ने चुँडामणि उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालको लगानी भएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गथ्र्यो । एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसन बापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कति कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कति कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।

गोपालकुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए । प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रति एक किलो नेपाली रकम ४० हजार पाउने गरेको थिएँ । सो रकमबाट मैलेप्रति एक किलो ५ हजार रुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सो रकमबाट बिमावापत भनी केही रकम समेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ । यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना ४–५ पटकदेखि ८–१० पटकसम्म सुन आउने गरेको मलाई थाहा छ ।

सुन तस्करीको क्रम निर्वाध तथा निरन्तर रुपमा चलिरहेको थियो र हाम्रो कमाइ पनि भइरहेको थियो । पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गते) एमके भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको म समेतले कमिसन प्राप्त गर्ने साढे ३३ किलो सुन बैंककबाट थाई एयरलाईन्स हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चुँडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा मैले जानकारी पाएँ ।

सुन मालिक एमके भन्ने मोहनकुमार अग्रवालको उक्त सुन पत्ता लगाउनै पर्ने दबाव आएसँगै मैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्त हराएको साढे ३३ किलो सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने दबाव दिइरहेका थियौं । हामीहरुले जे जसरी हुन्छ, हाम्रै समूहका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं ।

हराएको उक्त साढे ३३ किलो सुन नभेटिएमा थाई एयरका एयरपोर्टका कर्मचारीहरुको समूहबाटै हराएको सुनको क्षतिपूर्ति असुल गर्नुपर्ने अवस्था रहेको थियो । त्यसैले विमानस्थलका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछि नहटी सुन पत्ता लगाई छाड्नु भनी गोरे भन्ने चुँडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं ।

हामीलाई सुन मालिक मोहनकुमार अग्रवालले उक्त सुन कसले लगेको छ, जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर (ज्यान समेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दबाव दिइरहेका थिए । यो कामका लागि गोरेलाई बरु आफ्नो समूहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे सो समेत गरी जसरी भए पनि उक्त सुन खोज्नु भनी दबाव दिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएका थियौं । हामीले दिएको आदेश बमोजिम नै गोरेले आफैं र आफ्ना समूहका मानिसहरुद्वारा विभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्न स्थानमा लगि यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो ।

भुजुङको पाँच खाताको चार करोडको रोक्का

प्रहरीले भुजुङ गुरुङको बैंक खातामा चार करोड २१ लाख ५० हजार ३८२ रुपैयाँ फेला पारेको छ । सुन तस्करीका अभियुक्त गुरुङको ज्योति बैंकमा रहेका ५ वटा खातामा रहेको सो रकम प्रहरीले रोक्का गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७