खस्किँदो शैक्षिक गुणस्तरको दोष कसले लिने ?


३० बैशाख २०८०, शनिबार
sagar 1

-सन्तोष खनाल

भनिन्छ शिक्षा मानिसको आँखाको ज्योति हो । जब एउटा बालक धर्तीमा जन्मलिएर आउँछ, उसलाई सर्वश्रेष्ठ प्राणी बनाउन शिक्षाले महत्वपूर्ण भूमिका शिक्षाले खेलेको हुन्छ । जन्मजात रुपमा लिई आएका धारणाहरु भन्दा आर्जित धारणाहरुले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिक्षाले व्यक्तिको आदत र व्यवहार निर्माणमा सहयोग गर्ने कुरामा दुईमत छैन ।

बालक हुर्कदै जाने क्रममा घरपरिवारका सदस्यहरुको शैक्षिक चिन्तनले उसको भाग्य तथा भविष्य कोर्न महत्वपूर्ण भूमिका खेल्दछ । घर पहिलो पाठशाला अनि विशेषतः आमा पहिलो शिक्षिका हुने हुँदा यी दुई वटै कुराको तालमेलले बालकको भविष्य निर्धारण गर्दछ । साथै औपचारिक शिक्षामा उसको पहुँच अनि धारणाहरुले भोलि समाजमा उसको भूमिका कस्तो रहने भन्ने कुराको लेखाजोख गर्न सकिन्छ ।

शिक्षाविद् हिल्डा टावाका अनुसार ‘शिक्षा कोक्रोबाट शुरु भएर चिहानमा अन्त्य हुन्छ ।’ एउटा व्यक्तिले जीवनभरी सिक्ने कुरा नै शिक्षा हो । औपचारिक शिक्षा लिने क्रममा जव बालक विद्यालयमा प्रवेश गर्छ, तव उसलाई उक्त वातावरणमा समायोजन गराउन विद्यालय तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहन्छ । विद्यालय सबै जाति, धर्म, सम्प्रदाय, वर्ग अनि धर्म मान्ने मानिसहरुको साझा फूलबारी हो । यस पूmलवारीमा फूल्न लागेका फूलहरुलाई (विद्यार्थी) उचित गोडमेल गरी फुलाउने काम उक्त फूलबारीको माली (शिक्षक) हरुको हुन्छ । अहिले वर्तमान परिप्रेक्ष्यमा सामुदायिक शिक्षाको खस्कँदो गुणस्तर एउटा जटिल समस्याको रुपमा देखा परेको सर्वविदितै छ ।

यसको जिम्मेवारी उत्तरदायी तरिकाले लिने कोही तत्पर छैनन् । तर धेरै ठाउँका बहसमा शिक्षकहरुलाई जोड्ने गरिन्छ । एउटा विद्यालयको शैक्षिकस्तर उकास्नका लागि शिक्षकको जति हात रहन्छ, त्यति नै हात अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिको रहन्छ, शिक्षकले पढाएर मात्र विद्यालयमा अनि विद्यार्थीमा शैक्षिक गुणस्तर फस्टाउँछ भन्ने मानसिकता त्याग्नु पर्ने देखिन्छ ।

शैक्षिक गुणस्तरलाई अभिवृत्ति गर्न अभिभावकको भूमिका निकै महत्वपूर्ण हुन्छ । तर सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अभिभावकहरुलाई उनीहरुको शैक्षिक भविष्यप्रति खासै चासो देखिदैन । जवकी उनीहरुलाई आफ्ना छोराछोरी विद्यालयबाट कति वेला फर्कन्छन्, बिहान थाँती राखेका कामहरु पूरा गर्छन् कि गर्दैनन्, घाँस कति ल्याँउछन्, अनि करेसाबारीको काम भ्याँउछन् कि भ्याँउदैनन् ? अनि तिनै अभिभावकहरु वर्षको अन्त्यमा विद्यार्थीको नतिजा हेरेपछि शिक्षकलाई गाली गर्छन्, ‘अल्छी मास्टरहरु पढाए पो राम्रो नतिजा आउँछ ।’ अव यस्तो अवस्थामा दोषी कसलाई मान्ने ?

तर जे होस्, शैक्षिक गुणस्तर उकास्न नसक्नुमा जस–जसलाई दोषी देखिइएको छ त्यहाँभित्रको सत्यता अनिवार्य पत्ता लगाउनु पर्छ । यस्ता आलोचनालाई डिफेन्सिप रुपमा प्रस्तुत गर्ने भन्दा पनि क्रमिक सुधारको बाटो पहिल्याउन आवश्यक देखिन्छ । विद्यालय शिक्षाको विकासमा एउटा पक्ष मात्र जिम्मेवार रहँदैन अनि विद्यालयमा आवश्यक पर्ने भौतिक सामग्रीको सम्पन्नताले मात्र शिक्षाको गुणस्तर माथि उठ्न सक्दैन, यो चेतना सबैमा हुन आवश्यक छ ।

शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउँछौ भनेर खोलिएका शैक्षिक व्यापारिक केन्द्रहरु, जहाँ गज्जबले शैक्षिक व्यापार हुन्छ अनि पैसाको निहित स्वार्थले मनोविज्ञान, क्षमता तथा रुचिको अध्ययन नगरी जवरजस्ती शैक्षिक क्रियाकलापको भारी बोकाएर यातना अनि तनावका बीच शिक्षा दिने परिपाटी आजकाल हावी भइरहेको छ । अनि अभिभावकहरु त्यस प्रणालीको अन्धभक्त भएर गज्जवले सहयोग गरिरहेका छन् । उनीहरुलाई थाहा छैन कि यसरी जवरजस्ती लादिएको शिक्षा प्रभावकारी अनि दीर्घकालीन हुन्छ कि हँुदैन भनेर । उनीहरुका छोराछोरी अलिअलि अंग्रेजी लेखपढ गर्न थालेपछि भन्छन्, ‘वाह ! यो हो नि त विद्यालय, यी पो हुन् त शिक्षक ।’

अभिभावकलाई थाह नै छैन कि यो प्रणालीले हामीलाई कति लुटिरहेको छ भनेर । यस्तो प्रणालीवाट सञ्चालित शैक्षिक गतिविधिाट प्रशारित ज्ञान तथा क्षमता न त दीर्घकालिन हुन्छन्, न त समय सान्दर्भिक नै । अनि कसरी आउँछ शैक्षिक गुणस्तर ? अनि कसरी हुन्छ शैक्षिक प्रणालीमा सुधार ? यो गलत परिपाटीको नतिजाको भागेदार पनि सामुदायिक विद्यालयका शिक्षकलाई नै वनाइनु दुःखको कुरा हो ।

विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने अनि असक्षम जनशक्तिलाई शैक्षिक गतिविधिमा संलग्न गराई राजनीति गर्ने थलोको रुपमा विद्यालयलाई प्रयोग गर्ने दलहरुको कारण शिक्षा क्षेत्रमा परेको प्रभाव पनि एउटा गम्भिर समस्या हो । यसको जिम्मेवारी उनीहरुले लिने कि, नलिने ? राजनैतिक स्वार्थपूर्ति गर्नका लागि समग्र शैक्षिक प्रणालीलाई नै भ्रष्ट पार्ने अनि दोष चाँहि सबै शिक्षकको टाउकोमा थुपार्ने, यो परिपाटी तत्काल सुधार नभए यो समस्याले धेरै जटिल रुप लिने कुरामा दुईमत छैन ।

तर जे होस्, वास्तवमा शैक्षिक क्षेत्रमा विकृति र विसंगति मौलाएकै हो । यसलाई तत्काल सुधार गर्न नसक्ने हो भने भोलिको हाम्रो देशको भविष्य अनि उत्पादित जनशक्तिको भविष्य अन्धकारतर्फ धकेलिन्छ । यसलाई सुधार गर्ने कुरामा छलफल तथा बहस अनि तत्काल उचित निर्णय गर्नुपर्ने देखिन्छ । अब सम्पूर्ण अभिभावकहरुले आप्mना सन्ततिका लागि घरैमा शैक्षिक वातावरण सिर्जना गरिदिनु पर्छ । जवरजस्ती श्रमशोषण गर्नु हँुदैन, अनि सम्वन्धित निकायमा खवरदारी गर्नुपर्छ ।

तर हालका सरकारी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीका अभिभावकहरु निरपेक्ष गरिबीको रेखामुनि छन् । उचित शैक्षिक सामग्री प्रशस्त गर्न नसक्नु तथा शैक्षिक वातावरण उपयुक्त नहुनु जस्ता कारणले पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्पष्ट छ । हरेक अभिभावकले विद्यालयको हरेक काम कारवाहीमा चासो राख्नुपर्छ । विद्यालयलाई समुदायको एक अभिन्न अंगको रुपमा लिई असल कामको प्रशंसा अनि गलत कामको खवरदारी गरिनु पर्छ । यी विषयहरुको तालमेल मिलेको विद्यालयमा गलत खालका शैक्षिक क्रियाकलाप सञ्चालन हुने चान्स कम हुन्छ ।

फलस्वरुप विद्यालय तथा शिक्षकलाई थप उर्जा तथा हौसला प्राप्त भई शैक्षिक गतिविधि सहजै फस्टाउँछन् । हरेक विद्यालयको केन्द्रविन्दुको रुपमा विद्यार्थी रहन्छन् विद्यार्थीमा अनुशासन, लगनशिलता तथा मेहेनतले प्रवृत्तिको बानी विकास गराउन सकिएको खण्डमा उक्त विद्यालयको शैक्षिक गुणस्तरमा खोट लगाउन सकिँदैन । हो यस्ता बानीहरु निर्माण गराउनका लागि शिक्षामा आफैमा मेहेनती तथा परिश्रमी भएर लाग्नु पर्छ । तव मात्र बिग्रेको शैक्षिक परिपाटी केहि हदसम्म सुधार हुन सक्छ । जिम्मेवार अनि समर्पित शिक्षक शैक्षिक गुणस्तर सुधारको अर्को महत्वपूर्ण पाटो हो, निर्धारित शैक्षिक मूल्य तथा मान्यतालाई आधार वनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्छ । समय समयमा विभिन्न पुनर्ताजकीकरण तालिम तथा दण्ड अनि पुरस्कारको व्यवस्था गरिनु पर्छ ।

सामुदायिक विद्यालयको गुणस्तर विकास गर्नको लागि सर्वप्रथम नीतिगत क्षेत्रमै सुधार गर्नुपर्ने देखिन्छ । उपलब्ध स्रोत र साधनको परिचालन गर्नको लागि नीति सुधार गर्नुपर्ने देखिन्छ । राजनैतिक हस्तक्षेपबाट विद्यालयलाई टाढा राखिनु पर्छ । जस्तै व्यवस्थापन समिति गठनको सन्दिर्भमा होस् या शिक्षकको सरुवामा तथा भौतिक योजना सञ्चालनको सन्दर्भमा होस् राजनैतिक हस्तक्षेपबाट विद्यालयलाई टाढा राख्नु पर्ने हुन्छ । अभिभावकहरुलाई विद्यालयप्रतिको अपनत्व जगाउन अभिभावकहरुमा अभिभावक शिक्षाको कार्यक्रमहरु सञ्चालन गर्नु गराउनु पर्छ ।

वास्तवमा जहाँको नेतृत्व सवल अनि जवाफदेही हुन्छ, त्यस्तो संस्थाको चौतर्फी विकास हुने कुरामा दुईमत छैन । प्रशासनिक साथै शैक्षिक व्यवस्थापनलाई चुस्त तथा दुुरुस्त राख्ने काम प्रअको हुन्छ । प्रअले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुसँग समन्वय गरी भावी योजना तथा कार्यक्रम निर्माण गरी सबैको अपनत्व हुने गरी कार्यक्रम निर्माण तथा सञ्चालन गरेको खण्डमा शैक्षिक गुणस्तर राम्रो बनाउन सकिन्छ । राज्यस्तरबाट उचित नीति नियम तथा रणनीतिहरु तयार गर्ने तथा कार्यान्यन गराउने गरिनु पर्छ । तव मात्र हामीले खोजेको सुशासन शैक्षिक उन्नयन हुन सक्छ ।

यसरी खस्कँदै गएको शैक्षिक गुणस्तरलाई सुधार्नका लागि अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय प्रअ अनि राज्यस्तरका निकायहरुले नियमन गर्ने कार्यमा तद्रुपताका साथ लागेको खण्डमा सुधार हुन्छ । तसर्थ माथि उल्लेखित कुनै एक पक्षको कमजोरीमा समग्र शैक्षिक प्रणाली नै प्रभावित बन्छ । जसको कारण हाल मौलाएको शिक्षा क्षेत्रको सम्पूर्ण विकृति तथा विसंगतिका पछाडि सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरु मात्र दोषी नभएर समग्र शैक्षिक प्रणालीको वेतिथिको उपज हो । जसको कारण आज शिक्षा जस्तो संवेदनशील विषय लथालिङ्ग भएको छ । तर जे होस् दोष जसलाई देखाए पनि तत्काल समस्या पहिल्याएर निराकरण गर्नेतर्फ जानुपर्छ । खस्कँदै गएको गुणस्तर सुधार गरी सवल अनि समृद्ध राष्ट्र निर्माणमा जुट्नु पर्ने देखिन्छ ।

(लेखक श्री सिद्धकाली आ.वि. पाँचथर फिदिम–४ थाक्लेका शिक्षक हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७