तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने नाउपाको चेतावनी


३ जेष्ठ २०८०, बुधबार
LAXAM THARU EzFtelFNnF

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारु (चौधरी) ले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिए ।

उनले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको बताउँदै भने, ‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिताबारे सोच्न बाध्य हुनेछौं ।’ उनले सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको हो भन्दै प्रश्न गरे । उनले रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष भएको बताए ।

आफूहरुले सबैसँग कुरा गरेको र यसमा सबैले यो राजनीतिक आन्दोलन भएको बताए । उनले आफूहरुको अबको आन्दोलन शान्तिपूर्ण हुने बताए । जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । वि.सं. २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो । यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । उनले सर्वोच्च अदालतप्रति कुनै गुनासो नभए पनि सरकारप्रति गुनासो भएको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७