सिण्डिकेटका संरक्षक धमाधम पक्राउ, उपाध्यक्ष र महासचिव समातिए


२१ बैशाख २०७५, शुक्रबार
banjade

काठमाडौं, २१ बैशाख । सिण्डिकेट कायम हुनु पर्ने माग राख्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ धमाधम पक्रिन थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका देशभरका यातायात व्यवसायीलाई स्थानीय प्रशासनले पक्रिन थालेको हो ।

banjade
सिण्डिकेट कायम हुनुपर्ने माग गर्दै आएका पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन वन्जाडे । तस्विर : फेसबुक

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनसँगै बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्जाडेलाई ट्राफिक चोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताएका छन् । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्य्विधि निर्दे्शिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।
त्यस्तै नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७