सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी : आजै शपथ


५ जेष्ठ २०८०, शुक्रबार
kamal bahadur shahi
फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति भएको । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेस एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

तर, नागरिक उन्मुक्ति पार्टीले भने यसबारे केही खुलाएको छैन । योसँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी अगाडि बढाएका छन् । मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन आयोजना गर्दै आजै प्रदेश सरकार विस्तार हुने जानकारी दिएका छन् ।

नेता भट्टका अनुसार भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको टुंगो लगाएको छ । माओवादीबाट झपट साउद र रमेश धामी मन्त्री बन्दै छन् । गीतादेवी माललाई राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
यसअघि माओवादीबाट ओवविक्रम भाट,अक्कल रावल र लक्ष्मी विक सरकारमा पठाउने सहमति भएको थियो । तर, पूर्व सहमतिअनुसार सरकारमा सहभागी हुने सदस्यको नाम सिफारिस नभएको भन्दै माओवादीभित्र केही नेताहरूले असन्तुष्टि जनाएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्री शाहले शपथ खाएको सय दिनपछि आज प्रदेश सरकार विस्तार गर्न लागेका हुन् । यसअघि नेपाली कांग्रेसबाट शाह मुख्यमन्त्री र प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्रीमा बनेका थिए । यस्तै एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिलामन्त्री बनेका थिए । नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७