राजतन्त्र भन्दा गणतन्त्र हरेक दृष्टिकोणले राम्रो : प्रधानमन्त्री


६ जेष्ठ २०८०, शनिबार
Prachanda 2 2 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताए । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कङ्गाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढङ्गले राम्रो रहेको बताए ।

‘मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्याङ्क र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्याङ्कको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ’, उनले भने ।

नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्याङ्कलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताए । ‘नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।’

भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गलत रहेको उल्लेख गर्दै उनले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताए । ‘“पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ’, प्रधानमन्त्री दाहालले भनेण्, ‘विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखाँै श्रमिकको जीवन र भविश्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।’

सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उनको भनाइ छ । ‘यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्’, प्रधानमन्त्री दाहालले भने, ‘तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमशः समाधान गर्दै जान थालेका छौँ, मुख्यतः भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।’

सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताए । “कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्‍याएर छाडिन्छ’, उनले भने ।

कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शङ्का गर्ने गरिएको उनको भनाइ छ । ‘हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो’, प्रधानमन्त्री दाहालले भने ।

शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरु निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । उनले सदनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याए ।

‘अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नु पर्ने केही कारण छैन’, प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७