हरि बुढामगर : युद्धमा दुवै खुट्टा गुमाए, सगरमाथा चढेर विश्व कीर्तिमान बनाए {फोटो फिचर}


७ जेष्ठ २०८०, आईतवार
hari budhamagar sagarmatha 1

काठमाडौं । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । योसँगै हरिले विश्व कीर्तिमानसमेत बताएका छन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।

उनको यो सफलता सिङ्गो अपाङ्गता भएको क्षेत्रका लागि ठूलो उत्साह हो । त्यतिमात्र होइन उनको सगरमाथा आरोहणले सपाङ्गहरुलाई पनि केही गर्नुपर्ने थप प्रेरणा दिने विश्वास गरिएको छ ।

बुढामगरको सफल सगरमाथा आरोहणबाट वरिष्ठ पत्रकार माधव चम्लागाईले खुशी व्यक्त गरेका छन् । अपाङ्गता भएकाहरुलाई सगरमाथा आराहणमा लागेको रोकमा उनले मुद्दा नै लडेका थिए । कानूनको असमान व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडेर अपाङ्गता भएकाहरुका लागि सगरमाथा चढ्न बाटो उनैले खुलाएका थिए ।

चम्लागाईले फेसबुकमा लेखेका छन्, ‘सहृदयी मित्र हरि बुढामगरले सगरमाथामा आरोहणमा पाएको सफलताले विश्वभर रहेका अपांगता भएका व्यक्तिहरुलाई थप हौसला र उर्जा मिलेको छ । झण्डै ५ वर्षको निरन्तरको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी गत चैत २१ गते काठमाडौंबाट सगरमाथाको बेस क्याम्पतर्फ लागेका थिए ।

को हुन् हरि ?
रोल्पाको थवाङ गाउँपालिकाको मिरुल घर भएका हरिको सानै उमेरदेखि सगरमाथा आरोहण गर्ने सपना थियो । त्यो सपना रोकिएको मात्र थियो । तर गएको शुक्रबार उनको लागि जीवनकै ‘गुड फ्राइडे’ भइदियो । उनको इच्छाशक्तिका अगाडि उनको शारीरिक अशक्तताले जितेन । उनले सबै तगारा पार गरे । उनले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।

सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’ उनले गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।
सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए ।
हेर्नुस् तस्वीरहरु

hari budhamagar sagarmatha 2
hari budhamagar sagarmatha 3
hari budhamagar sagarmatha 4
hari budhamagar sagarmatha 5
hari budhamagar sagarmatha 6
hari budhamagar sagarmatha 7
hari budhamagar sagarmatha 8
hari budhamagar sagarmatha 9
hari budhamagar sagarmatha 10
hari budhamagar sagarmatha 11
hari budhamagar sagarmatha 12
hari budhamagar sagarmatha 13
hari budhamagar sagarmatha 14
hari budhamagar sagarmatha 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७