पूर्वमन्त्री मुस्ताक आलम कांग्रेसको टिकट छोडेर एमाले प्रवेश


५ कार्तिक २०७४, आईतवार
Mustak Aalam

काठमाडौं : पार्टी अध्यक्ष विजयकुमार गच्छदार कांग्रेस प्रवेश गरेपछि लोकतान्त्रिक फोरमका सहमहामन्त्री तथा पूर्वमन्त्री मुस्ताक आलम आफ्नो समुह सहित एमालेमा प्रवेश गरेका छन् । रौतहट जिल्लाबाट फोरमको टिकटमा २०७० सालको निर्वाचनमा रौतहट–२ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।Mustak Aalam

आलमलाई अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेपछि आलमले ओलीलाई ‘अंकल’ भन्दै अंकमाल गरेका थिए । स्थानीय चुनावमा रौतहटमा ‘क्लिन स्वीप’ भएको एमालेले त्यहाँका प्रभावशाली नेता आलमलाई भित्र्याएर शक्ति मजबुत पार्न खोजेको छ ।

रौतहटमा ‘राजाबाबु’ नामले समेत चिनिने आलमलाई निश्चित भोटबैंक भएको नेता मानिन्छ । गच्छदार कांग्रेस प्रवेश गर्दा आफूले पार्टी उपसभापति पाउनु पर्ने र रौतहटको एउटा निर्वाचन क्षेत्रमा आलमको टिकट निश्चित हुनुपर्ने सर्त गच्छदारले राखेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँको सर्तमा सहमति पनि जनाएको थियो । तर, आलम भने आफू कांग्रेस प्रवेश नगर्ने र एमाले सरकारमा रहंदा तराईका लागि गरेका काम हेरेर एमाले प्रवेश गर्ने निर्णयमा पुगे । आलमसँगै रौतहटमा लोकतान्त्रिक फोरममा संलग्न रहेका धेरै नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

उता फोरमकै अर्को समुहले भानुराम चौधरीको नेतृत्वमा पार्टी पुनर्गठन गरेको घोषणा गरिसकेको छ । अघिल्लो संसदमा एक सिट लिएर बसेका शिवलाल थापा, यशोदा लामा लगायतले पनि पुनर्गठित पार्टी भित्र भानुरामकै नेतृत्वमा सक्रिय रहने वताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७