चिनियाँ राजदूतले नै चीन भ्रमण अलि पछि गरौं भनेका हुन् : प्रधानमन्त्री


९ जेष्ठ २०८०, मंगलवार
Prachanda 6 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोआओ फोरम नजान सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् । सरकारको नीति तथा कार्यक्रमको विषयमा मंगलबार राष्ट्रिय सभामा जवाफ दिँदै उनले चिनियाँ राजदूतले नै चीन भ्रमण पछि गर्न आग्रह गरेको बताए ।

उनले चिनियाँ राजदूत छन् सोङले सरकारको अफ्ठ्यारो बुझेर भ्रमण पछिका लागि सारेको बताए । ‘उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो। तर त्यहाँ नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन । माननीय सदस्यहरूलाई प्रस्ट होस्, बरु चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्ठ्यारो बुझेर उहाँले नै मलाई निकै अफ्ठ्यारो देखिन्छ, तपाई बोआओ फोरममा जान सम्भव देखिरहेको छैन हामीले । अलि पछि गरौं कि चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझिदिनु भएको धन्यवाद भनेको थिएँ,’ उनले भने ।

उनले पहिला भारत कि चीन भ्रमण गर्ने विषयमा कुनै संवैधानिक र कानुनी बाध्यता नरहेको बताएका छन् । तर भूगोल, अर्थतन्त्र, खुला सीमानालगायतका कारण भारत भ्रमणको महत्व रहेको उनको भनाइ छ ।

‘उत्तर कि दक्षिणबाट भ्रमण गर्ने भन्नेबारे हाम्रो संवैधानिक र कानुनी बाध्यता छैन । समय परिस्थितिअनुसार गरिने कुरा हो र त्यसको सबैभन्दा ठूलो प्रमाण त म आफैं हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तरतिरबाट भ्रमण सुरु गरेको थिएँ । तर हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, यो सबै कारणले जनसम्बन्धनको दृष्टिकोणले पनि भारतको महत्व र विशिष्टता हामी सबैलाई थाहा छ । त्यो कारणले परम्परा बन्ने गरेको पनि केही कारण भएरै हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७