धारापानीमा पर्यटकीय चहलपहल बढ्यो


१० जेष्ठ २०८०, बुधबार
dharapani EDyvtOgPwY

दाङ । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उनी यहाँ घुम्न आएकी हुन् । चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।’ यस्तै तुलसीपुर–६ का यमलाल भण्डारी पनि साथीसँग धारापानी घुम्न आए । गर्मीमा शीतलता पाउने आशले उनी यहाँ आएका हुन । पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ । ‘बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको संख्या धेरै रहेको छ’, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने । दसैं, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको संख्या बढी छ । पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ ।

‘यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्’, अधिकारीले भने । शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण छ । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ । अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन् । यहाँ एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ रहेका छन् । दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ ।

पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ । सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनर्निर्माण गर्न थालिएको छ ।

धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन् । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ । सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खला समेत स्पष्ट देख्न सकिन्छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ । पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ । घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । ‘आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्’, उनले भने । चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७