नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान न्यायाधीश न्यौपानेको इजलासमा

पहिलो बयान मुख्य अभियुक्त केशव दुलालको


१२ जेष्ठ २०८०, शुक्रबार
khad top

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगी गरेको कसुरमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ । त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा दोस्रो नम्बरमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्मालाई प्रतिवादी बनाइएको छ । तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकारलाई ६ नम्बरमा प्रतिवादी बनाइएको छ भने टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बिव पूर्व गृहसचिव टेक नारायण पाण्डेलाई ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।

आरोपितहरूको आजदेखि बयान सुरू हुने भएको छ । सोही प्रकरणमा १६ जना पक्राउ परेका छन् । बयान करिब दुई हप्ता लाग्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने आदेश हुनेछ ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ठगी, सरकारी लिखित कीर्ते, संगठित अपराधको कसुर, राज्यविरूद्धको कसुर र एकीकृत कसुरवापत डेढी साजय गरी पाँचवटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ। जसमा २४ वर्ष कैद सजाय माग गरिएको छ । उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगो माग गरिएको छ ।

प्रहरीले शरणार्थी प्रकरणमा विभिन्न समयमा पक्राउ परेका माथि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीले गत चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो । यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन् ।

त्यस्तै सोही प्रकरणमा खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । यो मुद्दामा प्रतीक थापा, नीरज राईसहित १७ जना फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७