गुजरात आइपीएलको फाइनलमा : उपाधिका लागि चेन्नईसँग भिड्ने

काठमाडौं । गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा पुगेको छ । गए राति नरेन्द्र मोदी स्टेडियममा भएको दोस्रो क्वालिफायर खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ६२ रनले पराजति गर्दै फाइनलमा पुगेको हो ।
गुजरातले दिएको २३४ रनको लक्ष्य पछाएको मुम्बई १८.२ ओभरमा १७१ रन बनाएर अलआउट भएपछि खेल ६२ रनले जितेको थियो । जितसँगै गुजरातले अब आइतबार फाइनलमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
दोस्रो सिजन खेलिरहेको गुजरात लगातार दोस्रो पटक नै फाइनलमा पुगेको हो । गुजरात आईपीएलको डिफेन्डिङ च्याम्पियन समेत रहेको छ ।
आइपीएलको इतिहासमा चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा पुगेको छ । जसमा चेन्नईले यसअघि चार पटक उपाधि जितेको छ । आइपीएलको इतिहासमा मुम्बईले सबैभन्दा बढी ५ पटक आइपीएलको उपाधि जितेको छ ।