प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा बिहीबार भेटवार्ता गर्ने


१३ जेष्ठ २०८०, शनिबार
prachanda and modi

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीबार भेटवार्ता गर्ने भएका छन् । आज (शनिबार) परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमणमा जान लागेका हुन् । उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले जेठ १५ गते संघीय संसद्मा बजेट पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत जानेगरी तयारी थालेको थियो । मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनुपर्ने विषयमा गहन छलफल गरिरहेको छ । प्रचण्डको भारत भ्रमणका क्रममा यस पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य भइरहेको र त्यसमध्ये हवाई रुट प्राथमिकतामा पर्नेछ ।

नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन । यस्तै १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी) सीमा समस्या ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७