‘नीरफूल’मा हामीले भोगेको समयको कथा भेटिनेछ : अभिनेता दयाहाङ राई


१३ जेष्ठ २०८०, शनिबार
Daya Hang Rai

काठमाडौं : दुइ हप्तापछि अल नेपाल रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् ।

शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली पनि सुनाए । ‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा चलचित्रहरुमध्ये यो पनि एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ चलचित्र हो यो ।’

सञ्चारकर्मीहरुसँगको सवाल जवाफ क्रममा उनले हाल प्रदर्शन भइरहेको आफ्नै अर्को चलचित्र ‘जारी’को समेत सन्दर्भ उप्काउँदै लिम्बु समुदायको साँस्कृतिकता ‘जारी’ मा आएजस्तै ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दावी गरे । ‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु’, उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ ।’

Niraful

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए । ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनले भने, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

तीनबर्ष अघि कोरोना महामारीको कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।

‘चलचित्रमा भुकम्प आउँछ, तर यो चलचित्र भुकम्पको कथा माथि हैन’, वलले भने, ‘हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ चलचित्रमा छ ।’

भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको फिल्म कोरोनाको कारणले प्रदर्शन हुन समय लागेको र त्यही कारणले निर्माण लागत पनि बढेको उनले बताए । कार्यक्रममा अभिनेता बुद्धि तामाङ, अभिनेत्री शान्ति वाइबा, बाल कलाकार जिग्मे छ्योकी लगायतले फिल्म निर्माणको बेलाको अनुभव सुनाए ।

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन् । फिल्मलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् ।

फिल्मको पटकथा फुलमान वल सचिन घिमिरेले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । यही जेठ २६ गते रिलिज हुन लागेको फिल्मको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७