एमालेमाथिको ‘गोदी पत्रकारिता’

‘ओली इस्किया’ शीर्षकमा तत्कालिन प्रधानमन्त्री ओली र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भद्दा सामग्री बनाए । नेपालले नयाँ नक्सा जारी गरेको आक्रोशमा भारतीय ‘गोदी मिडिया’ ले ‘ओली इस्किया’ शीर्षकमा भद्दा सामग्री बनाइरहेका बेला यताका मिडियाहरुले पनि उही शैलीमा ओलीको ‘नक्कली राष्ट्रवाद’ विश्लेषण छाप्न भ्याए


१३ जेष्ठ २०८०, शनिबार
Rajesh Rai

भारतको पत्रकारिताबारेमा भारतका चर्चित पत्रकार तथा रोमन म्याग्सेसे अवार्ड विजेता रविश कुमारको निष्कर्ष छ, ‘गोदी मिडिया’ । भारतीय सञ्चार माध्यमहरुले सत्यको होइन सत्ताको ताबेदारी गरिरहेको निष्कर्ष सहित रविश कुमार भन्छन्, ‘एक समय थियो जब निर्वाचनको बुथ लुट्न बाहुबली लुटेरा आउने गर्थे, अहिले गोदी मिडियाले त्यो बाहुबलीको काम गरिरहेको छ । सूचना गायब गरेर उनीहरुले जनतालाई लुटिरहेका छन् ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काखमा हुर्किएका पत्रकार अर्नब गोस्वामी प्रवृत्तिकोे ‘गो’ र मोदीको ‘दी’ मिसाएर ‘गोदी’ पत्रकारिता नामकरण गरिएको हो । सन् २०१४ मा पहिलो पटक नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो प्रचार र विपक्षीलाई आक्रमण गर्न सत्ता पक्षबाट मिडियाको दुरुपयोग भएपछि यो शब्द भारतमा चर्चित भयो । खासगरी नागरिकता संशोधन ऐन र किसान आन्दोलनताका यो शब्द खुबै चर्चित भयो ।

रविशको नेपाली मिडियालाई सन्देश थियो, ‘भारतीय मिडियाले गरिरहेको यस्तो अभ्यासले समाजमा घृणाको राजनीति संस्थागत गरिरहेको छ, यो डरलाग्दो छ । यस्तो रोग नलाग्दै तपाईंहरू संयुक्त प्रयत्न गरिहाल्नोस् । ढिलो भएपछि पछुताउने शिवाय अर्को विकल्प बाँकी रहने छैन ।’

सन् २०२० डिसेम्बर जतिबेला भारतमा किसान आन्दोलन उत्कर्षमा थियो । कृषिसम्बन्धी तीन विधेयक फिर्ताको माग राख्दै किसानहरुले भारतमा आन्दोलनको आँधी ल्याए । भतभती पोल्ने सडकमा नाङ्गो खुट्टा टेकेर आन्दोलनमा आएका किसानहरुलाई भारतीय मिडियाले ‘आतंकवादी’ भनी दिए । आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्य प्रणालीको रक्षाका लागि उभिएका किसान आन्दोलनलाई मिडियाले आतंकवादी भनीदिए किसानहरुले सरकार विरुद्धको पोष्टर थन्काएर मिडिया सम्बोधन गरेर पोष्टर बनाए । जहाँ लेखिएको थियो, ‘हामी आतंककारी होइनौं ।’

पत्रकार रविश कुमार भन्छन्, ‘गोदी मिडिया बिना बन्दुकका मिलिसिया हुन् । यो विश्व गुरु (नरेन्द्र मोदी) को खोज हो । सन् १९९० को सूचना क्रान्तिपछि यदि कुनै मिडियालाई गोदी मिडिया बनाउने सवालमा यदि कोही सफल भएको छ भन्ने त्यो भारत हो ।’

‘गोदी मिडिया’ को नेपाली संस्करण
‘गोदी मिडिया’ का व्याख्याता उनै रविश कुमार हिमाल मिडिया प्रालिले २४ वैशाख २०७९ मा आयोजना गरेको ‘हिमाल मिडिया मेला’ मा प्रमुख वक्ता भएर आएका थिए । उनले भनेका थिए, ‘मेडिकल पेसामा डाक्टर हुन पहिला त्यो विषयको अध्ययन गर्नुपर्छ, गोदी मिडियामा पत्रकार हुन पहिला पत्रकारिता छोड्नु पर्छ ।’

रविशको नेपाली मिडियालाई सन्देश थियो, ‘भारतीय मिडियाले गरिरहेको यस्तो अभ्यासले समाजमा घृणाको राजनीति संस्थागत गरिरहेको छ, यो डरलाग्दो छ । यस्तो रोग नलाग्दै तपाईंहरू संयुक्त प्रयत्न गरिहाल्नोस् । ढिलो भएपछि पछुताउने शिवाय अर्को विकल्प बाँकी रहने छैन ।’

‘के नेपाली मिडिया यो रोगबाट मुक्त छ ?’ ‘छैन’ यसको सहज उत्तर छ, ‘हामी कहाँ ‘गोदी मिडिया’ को नयाँ संस्करण आगो जसरी फैलिरहेको छ ।’ नेपाली मिडियाले प्रतिशोध, पूर्वाग्रहको र उन्मादको मन्दविष कसरी प्रभाह गरिरहेको छ ? वस्तुगत हिसाबले त्यसको उत्तर खोजियो उता भारतीय पत्रकारिताको बिषयमा रविश कुमार जस्तो निचोडमा पुगेका थिए, हामी यता त्यो भन्दा खराब निष्कर्षमा पुग्न सकिन्छ । त्यो यर्थाथ थाहा पाउन ‘भिक्टिमाइज’ भइरहेको पक्षबाट हेर्नुपर्छ ।

हेरौं, अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई । एमाले नेताहरुले भनिरहेका छन्, ‘एमालेविरुद्ध ‘गोदी पत्रकारिता’ भइरहेको छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेविरुद्धको प्रचारवाजीपछि एमाले महासचिव शंकर पोखरेलले लेखेका छन्, ‘गोयवल्सको शैलीमा भइरहेको भ्रमपूर्ण प्रचारबाट सचेत बनौं । देशभक्तहरुमाथि विदेशी शक्ति केन्द्रको इशारामा षडयन्त्रपूर्ण आक्रमण हुँदा समेत रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भइरहेको छ ।’

एमाले मुख्यालय च्यासलबाट नेपाली मिडियालाई एक पटक हेरौं । एमाले नेताहरुको दाबी, गुनासो र आक्रोशमा सत्यता भेटिन्छ । एमालेविरुद्ध प्रयोग भएको ‘गोदी मिडिया’ को असाध्यै लामो श्रृंखला तथ्यमा देखिन्छ ।


एउटा उदाहरण हेरौं, नक्कली भुटानी शरणार्थी प्रकरण :
नेपाली राजनीति र समाजलाई असाध्यै तरङ्गित पारेको प्रकरण हो यो । यो प्रकरणमा पक्राउ परेका दुई ‘हाइ प्रोफाइल’ हुन्, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्व गृहसचिव टेकनारायण पाण्डे ।

त्यसअघि पक्राउ परेका थिए नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके नेपाली कांग्रेसका नेता केशवप्रसाद दुलाल । त्यसपछि मात्रै पाण्डे पक्राउ परे । कांग्रेस नेता दुलालले आफू, खाँण, पत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाकोलगायतको नाम लिएपछि पाण्डेले हिरासतबाटै खाँणलाई चिठी लेखे ।

खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको पत्रमा भनिएको थियो, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनु पर्छ, नभए मन्त्री ज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनु होला । एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ ।’

यो पत्र प्रहरीले नै सार्वजनिक गरिसकेको छ । उनै कांग्रेस नेता दुलालले बोलेको एउटा अडियोमा पनि सार्वजनिक भएको छ । त्यसमा स्पष्ट भनिएको छ, ‘गृह मन्त्रालयमा रहेको गृहमन्त्रीको गोप्य कोठामा ३० लाख, उनका सहयोगी नरेन्द्र केसीलाई ५ लाख दिएको छु । त्यस्तै सचिव टेकनारायण पाण्डेमार्फत १ करोड २४ लाख ५० हजार पनि मन्त्रीलाई दिएको छु ।’

खाँणले उक्त रकम लिएको पुष्टि सचिव पाण्डेले पनि गरेका छन् । तर अन्तिममा दुलालले सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा पक्राउ माथि उल्लेखित कसैको नाम लिएनन्, बरु एकाएक चक्मा दिदै एमाले सम्बद्ध नेताहरुको नाम लिएको वयान सार्वजनिक भयो ।

ती पत्र पाण्डेले नै लेखेको फरेन्सिक जाँचबाट समेत पुष्टि भएको छ  । गत २७ वैशाख २०८० मा खाँण र केसीलाई पक्राउ गर्ने क्रममै प्रहरीले ती पत्र बरामद गरेको हो । पाण्डे भने २० वैशाखमै पक्राउ परेका थिए । पक्राउ परेर बयान दिनुअघि त्यसरी उनले हिरासतबाटै पत्राचार गरेका हुन् ।

सुरुमा खाँण, पाण्डे, खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको लगायतको नाम लिएका दुलालले पछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेको वयान सार्वजनिक भयो । सबै मिडियामा आगो जस्तै फैलियो । फैलाइयो ।

नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले ८ जेठ २०८० मा सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझायो । प्रतिवेदन सरकारी वकिलले खोल्न नपाउँदै सबैजसो सञ्चार माध्यमहरुले प्रतिवेदनका वयानका अंशहरु प्रकाशन गरिसकेको थियो । ती वयानका अंशहरु, जो एमालेसँग सम्बद्धहरु विरुद्ध दिइएको थियो । स्रोतहरुका अनुसार अनुसन्धानमा संग्लन प्रहरीका उच्च अधिकारी र सरकारको मिडिया परिचालनको अनौपचारिक संयन्त्रबाट यो योजनाबद्ध रुपमा वितरण गरिएको थियो ।

ती वयानका अंशहरु प्राप्त भएपछि नेपाली सञ्चार माध्यमहरुले यस्तरी समाचार प्रकाशन गरे, मानौं कि नक्कली भुटानी शरणार्थी प्रकरणका सम्पूर्ण दोषी एमाले र उसमा आबद्ध मान्छेहरु हुन् । समाचारहरुको प्रस्तुती र ‘प्लेसिङ’ यस्तो थियो कि मानौं, कांग्रेसका नेता केशवप्रसाद दुलालको वयान मात्रै अन्तिम सत्य हो । प्रमाण एकातिर छ, दुलालको वयान नै अन्तिम सत्य जसरी एमालेविरुद्ध ‘भयनाक प्रोपोगाण्डा’ गरियो ।


प्रश्न यहाँनिर छ,
‘दुलालको वयानको अंश छापेर एमालेमा आबद्धहरुलाई दोषी करार गर्दैगर्दा पूर्व सचिव पाण्डेले हिरासतबाट स्वकीय सचिव नरेन्द्र केसीमार्फत खाँणलाई पठाइएको पत्रले उजागर गरेका तथ्य स्पष्ट भए पनि त्यसलाई चहिँ किन लुकाइयो वा अनदेखा गरियो ?’

‘कांग्रेस नेता दुलालले खाँणलगायतका नेताहरुको नाम लिएपछि पाण्डेले हिरासतबाटै खाँणलाई चिठी लेखेर वयान फेर्न लगाउन अनुरोधसहित चिठी लेखेका थिए । यो चिठीमा भनिए जस्तै पछि वयान फेरियो । उल्लेखित नामहरु आएनन् । गएको आम निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य दाबेदार दुलालले वयानमा पोलेका एमालेमा आबद्ध मान्छेहरुलाई मुख्य दोषी जसरी प्रस्तुत सामग्री प्रोपोगाण्डा होइन र ?’

बालकृष्ण पन्थीको प्रतिवेदनमा कीर्ते गर्ने र नक्कली भूटानी शरणाथी थप्ने कार्य २०७८ साउनमा कांग्रेस नेता खाँण र टेकनारायण पाण्डे गृह मन्त्रालयको सचिव भएपछि भएको हो भन्ने तथ्य जगजाहेर छ । प्रतिवेदन कीर्ते गर्ने कांग्रेस नेता खाँण, योजनाकार कांग्रेसमा आबद्ध केशवप्रसाद दुलाल र सानु भण्डारीहरु । अनि उनीहरु पक्राउ परेपछि उनीहरुले नै छानीछानी एमाले नेताहरुविरुद्ध वयान दिने । त्यही वयान सरकारी संयन्त्रबाट सञ्चार माध्यमहरुलाई उपलब्ध गराइयो । योजनाबद्ध रुपमा सरकारी संयन्त्रबाट उपलब्ध गराइएको वयानको आधारमा एमालेविरुद्ध श्रृंखलाबद्ध प्रोपोगाण्डा गरियो । यसलाई ‘गोदी पत्रकारिता’ को नेपाली संस्करण किन नभन्ने ?

प्रोपोगाडाको लामो श्रृंखला
विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक अमेरिकी चिन्तक नोम चोम्स्कीलेइराकमाथि अमेरिकाले आक्रमण गर्नुअघि लेखेका थिए, ‘अब अमेरिकाले इराकमाथि आक्रमण गर्नेछ । अमेरिकीहरूले अस्पतालमा बच्चा जन्माइरहेका सैयौँ आमाहरूको हत्या गर्नेछ । हजारौँ साना नानीहरूको घाँटी रेटेर हत्या गर्नेछ । वृद्धवृद्धाहरूको छातीमा संगीनले घोचेर मार्नेछ । तर, दुनियाँले उनीहरूलाई मान्छे होइन, आतंककारी देख्नेछ किनभने दुनियाँका कर्पोरेट मिडियाहरूले उनीहरूलाई आतंककारी रूप (माइण्ड फ्रेमिङ्ग) मा दिमाग भरिदिएका छन् ।’

सन् २००३ को मार्च २० मा जब इराकमाथि आक्रमण भयो । सैयौं इराकी निर्दोष कलिला नानीहरुमाथि बम हानियो । सुत्केरी आमाहरुमाथि बन्दुक हानियो । हजारौं निर्दोषलाई बिभत्स गरी मारियो । तर, दुई–चार जनालाई सद्दाम हुसैनले यातना दिएको समाचार दिएर सद्दामकै कारण यो धर्तीबाट मानवीयता हराउन सक्ने प्रचार गर्ने ती मिडियाहरुले हजारौं निर्दोष–निशस्त्र इराकीहरुलाई अमेरिकाले पशु जस्तै बिभत्स तरिकाले मारेको कहिल्यै देखेनन् । सद्दामले दिएको यातना सही भन्ने होइन । गलत हो । तर, प्रश्न हो भने ‘के अमेरिका र बेलायतले मारेका हजारौं ती निर्दोष मानिसहरुका लागि चाहिँ मानवअधिकार होइन ?’ अमेरिका र बेलायतले नानीहरु, बृद्धबृद्धाहरु, सुत्केरी आमाहरु, युवा–युवतीहरु बिभत्स तरिकाले मारिरहेको दृष्यले मानवअधिकारको पाठ घोकाईरहने मान्छेहरुको आँखामा आशु किन आएन ?

इराक युद्धमा ३ हजार ८७६ जना मारिए । ५७ हजार ३५५ जना घाइते भए । उनीहरुले राम्रोसँग उपचार पाएनन् हजारौं वेपत्ता छन् । यो युद्धको कारण ६२ हजार नागरिक भोकमरीको शिकार बने । ३० डिसेम्बर सन् २००६ मा सद्दाम हुसैनलाई झुण्ड्याएर मारियो । यतिधेरै भयनाक युद्धको प्राप्ति के ? अमेरिका र बेलायतले दाबी गरे जस्तो इराकमा जैविक हतियार फेला परेन ।

इराक युद्धबारे अध्ययन गर्न बनेको बेलायती चिलकोट जाँचबुझ आयोग बन्यो । यो युद्धलाई अपराध भन्यो । तत्कालीन अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि युद्ध अपराधको मुद्दा चलाउनु पर्ने बहस भयो । रिपोर्ट सार्वजनिक भएको भोलिपल्ट बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले युद्धमा मारिएकाहरुका परिवारसँग माफी मागे ।

सद्दाम हुसैनलाई जसरी झुण्ड्याइएको थियो, त्यो भन्दा भयनाक तरिकाले जर्ज डब्ल्यु बुस, टोनी ब्लेयरहरुलाई झुण्ड्याइनु पर्ने थियो । तर, उनीहरुमाथि प्रश्न समेत गरिएन ? किन ? उनीहरुसँग मानवअधिकार र लोकतन्त्रको ‘लाइसेन्स’ थियो, छ । उनीहरुलाई लाखौंलाई मार्ने छुट छ । करोडौंलाई बेघरबार बनाउने अधिकार छ । समग्रमा उनीहरुलाई जेसुकै गर्ने छुट छ । किनभने उनीहरुले लोकतन्त्र र मानवअधिकारको ‘लाइसेन्स’ कब्जा गरेर बसेका छन् ।

पछिल्लो केही वर्षयता नेपाली सञ्चार माध्यमहरुले प्रकाशन–प्रशारण गरेको सामग्रीहरु तथ्यमा हेरौं । अमेरिकाले आक्रमण गर्नुअघिको इराकी र पछिल्लो केही वर्षयताका एमालेहरु उस्तै लाग्छन् । जसरी विश्वका कर्पोरेट हाउसहरुले अमेरिकाले इराकमाथि आक्रमण गर्नुअघि इराकीहरुको बिम्ब ‘आतंककारी’ रुपमा स्थापित गरीदिएका थिए । ‘चिसो भनेकै कोकाकोला’ भने जस्तै ‘खराब भनेकै एमाले’ जसरी प्रस्तुत गर्ने क्रम तेज गतिमा अघि बढिरहेको छ । कहिले, कसरी र कुन घटनामा ? यसका दर्जनौं होइन सयौं तथ्यहरु प्रस्तुत गर्न सकिन्छ । तर यो छोटो आलेखमा त्यो सम्भव छैन ।

हेरौं केही तथ्य :
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरियो । उतिबेला उता रविश कुमारले भनेको ‘गोदी मिडिया’ ले तत्कालीन प्रधानमन्त्री ओली र नेपाल विरुद्ध घृणा र उन्मादले भरिएका भद्दा सामग्रीहरु प्रस्तुत गरे ।

‘ओली इस्किया’ शीर्षकमा ओली र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भद्दा सामग्री बनाए । नेपालले नयाँ नक्सा जारी गरेको आक्रोशमा भारतीय ‘गोदी मिडिया’ ले ‘ओली इस्किया’ शीर्षकमा भद्दा सामग्री बनाइरहेका बेला यताका मिडियाहरुले ओलीको ‘नक्कली राष्ट्रवाद’ विश्लेषण छाप्न भ्याए ।

यही नक्सा जारी पछि ६ जेठ २०७७ मा प्रतिनिधिसभालाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले भारतलाई सोधे, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ । म भारतलाई सोध्नेछु – सिंहमेव जयते कि सत्यमेव जयते ?’

नक्सा जारी भएको छ, संसदबाट ओलीले सोधेका छन्, ‘सिंहमेव जयते कि सत्यमेव जयते ?’ तर उही बेला विश्लेषक, स्तम्भकारहरुले लेखिरहेका थिए, ‘नक्कली राष्ट्रवाद’ । त्यति मात्रै होइन संबिधान जारी पछि भारतले नाकाबन्दी गर्यो । नेकपा (एमाले) अध्यक्ष ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको डटेर सामना मात्रै गरेनन् पछाडि फर्किन बाध्य पा-यो । त्यसलाई पनि ‘नक्कली राष्ट्रवाद’ भनेर भाष्य निर्माण गर्न खोजियो । दुनियाँ यो भन्दा भद्दा र पूर्वाग्रही विश्लेषण कही होला र ?


केही वर्षयताका प्रशारित र प्रकाशित समाचारहरु हेर्नुहोस्, ती सामग्रीहरु हेर्दा जोकोहीलाई यस्तो लाग्छ, ‘अब नेपाली धर्तीमा एमालेहरु भेटिने छैनन् ।’ यस्ता भाष्यहरु निर्माण गर्न खोजिएको छ, की संबिधानलाई कसैबाट खतरा छ भने एमालेबाट छ । समावेशिताको बिरोधी कोही छ भने, ‘त्यो एमाले हो ।’ यस्तो बिम्ब निर्माणको प्रयास भएको छ, की भ्रष्ट भनेकै एमाले हो ।

एमाले नेताहरुले आफ्नो नेतृत्वको रक्षा गरेर बोल्दा उनीहरु झोले हुन्छन्, अन्य पार्टीका नेताहरुले नेतृत्वको रक्षा गर्दा ‘महान्’ भनिन्छन् । सञ्चार माध्यमहरुले एमाले नेताहरुमाथि निर्माण गर्न खोजिएको बिम्ब, एमालेमाथि बनाउन खोजिएको भाष्य र स्थापित गर्न खोजिएको मानक हेर्दा एक वर्षअघि नै एमाले धुलिसात भइसक्नु पर्ने हो ।

एमालेमाथि प्रोपोगाण्डाको अर्थ
नोम चोम्स्की भन्छन्, ‘सर्वसत्तावादका लागि हिंसा र लोकतन्त्रका लागि प्रोपगाण्डा उस्तै हुन् ।’ अमेरिकामा बाराक ओबामाको शासन चलिरहेका बेला उनले भनेका थिए, ‘अहिले अमेरिकाले नागरिक अधिकारमाथि घातक आक्रमण गरिरहेको छ । तर, उद्धार मिडियाले यसबारे केही बोलेका छैनन् । किनभने, आक्रमण ओबामा प्रशासनबाट भईरहेको छ । ओबामासँग लोकतन्त्र र मानवअधिकारको आवरण छ ।’ रविश कुमार भन्छन्, ‘गोदी मिडिया बिना बन्दुकका मिलिसिया हुन् ।’

सत्तामा भएको बेला होस् वा प्रतिपक्षमा रहँदा । नेकपा (एमाले) हरुविरुद्ध ‘बिना बन्दुकका मिलिसिया’ सधैं तैनाथ छन् । लामो र गौरवमय विरासतसहित उभिएको एमाले असाध्यै व्यविस्थत र सुदृढ संगठन भएको पार्टी हो । एमाले बलियो राष्ट्रिय शक्ति पनि हो । बलियो र स्थायी राष्ट्रिय शक्ति निर्माणमा कसले, किन र कसरी अवरोध गरिहेका छन् ? इतिहासबाट फर्केर हेर्दा बढो प्रष्ट देखिन्छ । यो त्यसैको निरन्तरता हो भनेर शायद एमालेहरुले बुझेको हुनुपर्छ ।

यहाँनिर प्रश्न यो हो, ‘आफूविरुद्ध र आफ्नो विरोधी अनुकूल बजिरहेको धुनमा ‘मधहोश’ पारामा किन सुनिरहेको छ ?’

स्पष्ट छ, ‘एमालेमाथि गोदी पत्रकारिता भइरहेको छ ।’ त्यो चिन्ताको बिषय होइन, चिन्ताको बिषय चहिँ यो हो, ‘की एमालेहरुले आफू विरुद्ध निर्माण भइरहेको बिम्ब, भाष्य र मानकको प्रतिरोध किन गरिरहेका छैनन् ?’

एमालेहरुलाई थाहा हुनुपर्छ गोयवल्सको इतिहास । गोयवल्स हिटलरको सञ्चार मन्त्री थिए । उनको विश्वास थियो, ‘कुनै पनि झुट कुरालाई एक सय पटक दोहो-याएर भनियो भने मान्छेहरूले त्यसलाई सत्य ठान्न थाल्नेछन् ।’ गोयबल्सले भनेका छन्, ‘थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभन्मेन्ट क्यान प्ले ।’ अर्थात् प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसमा सरकारले मजासँग आफू अनुकूलका धुन बनाउन सकोस् ।

यहाँनिर प्रश्न यो हो, ‘आफूविरुद्ध र आफ्नो विरोधी अनुकूल बजिरहेको धुनमा ‘मधहोश’ पारामा किन सुनिरहेको छ ?’

लेखकलाई पछ्याउनुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७