केहि तिता–मिठा अनुभव पनि होलान् तर, राष्ट्रिय समस्यामा सहमति गरौं : प्रधानमन्त्री


१३ जेष्ठ २०८०, शनिबार
Prachanda samsad jeth 13 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै उनले शनिबार संसदमा सबै दललाई राष्ट्रिय सहमति गर्न आह्वान गरे ।

उनले महाभूकम्पका बेला आफू प्रमुख प्रतिपक्षी दलको नेता रहेको स्मरण गर्दै त्यतिबेला संकटमा सरकारको साथ दिन घोषणा गरेको बताए । ‘महाभूकम्पको बेला म पनि प्रमुख प्रतिपक्षी दलको नेता थिएँ । त्यतिबेला मैले यही संसदमा भनेको थिएँ, म प्रमुख प्रतिपक्षी दलको नेता होइन । संकटमा तपाईहरूको साथमा छु भनेर घोषणा गरेको थिएँ,’ उनले भने ।

उनले यतिबेला देशमा आर्थिक संकट रहेको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताए । ‘अहिले देशमा आर्थिक संकट छ । त्यसलाई समाधान गर्न हामीबीच एकता हुन जरुरी छ । जनताका समस्या समाधान गर्न हामी एक ठाउँ हुन जरुरी छ,’ उनले भने ।

उनले यसबीचमा तीता मिठा भए पनि मनोविज्ञानभन्दा ठूलो राष्ट्र रहेको बताए । ‘हामीबीच केही तीता मिठा भएका छन् । ती मनोविज्ञानभन्दा ठूलो राष्ट्र हो । जनताको आधारभूत कुरामा काम गर्नु हो । सुशासन र समृद्धिको नयाँ मोडेल सँगै मिलेर खोजौं,’ उनले भने । उनले प्रमुख प्रतिपक्षी दलका नेता अस्वस्थ भएका बेला भेटेरै राष्ट्रिय समस्या समाधानका विषयमा छलफल गरेको बताए । उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका बेला पनि राजनीति सन्तुलन गरेको दाबी गरे ।

‘देशका अगाडि जे जस्ता समस्याहरू छन् । राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ । प्रमुख प्रतिपक्षी दलका नेता अस्वस्थ हुँदा उहाँको घरमै गएर सदन चलाउने विषयमा छलफल गरेका छौं । सदन चलाउने, समिति बनाउने, सभापति बनाउने, संक्रमणकालीन न्यायलाई छिनोफानो गर्ने कुरामा सहमति गरेका छौं,’ उनले भने, ‘देशको कार्यकारी जसरी भए पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि राजनीतिक सन्तुलन मिलाउन मैले भूमिका खेलेको दाबी गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७