कोशी प्रदेश सभा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ३० बढी प्रदर्शनकारी पक्राउ


१४ जेष्ठ २०८०, आईतवार
police biratnagar11685248028

मोरङ । कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने ३० भन्दा बढी पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशमा आज (आइतबार) देखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

बैठकअघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश–१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।

निषेधाज्ञा तोडेर प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार निषेधित क्षेत्रमा सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७