संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संसद्को दुवै सदनको बैठक सोमबार बस्ने

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ ।
संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।
आजै संघीय संसदको संयुक्त बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल भएको थियो । दफाबार छलफलका क्रममा संशोधन प्रस्ताव गरेका सांसदहरु खिमलाल देवकोटा, जितेन्द्र नारायण देवले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो भने अमरेशकुमार सिंह, प्रभु साह, सुमना श्रेष्ठ, प्रेम सुवाल, डा विमला राई पौड्यालले आफ्नो संशोधन फिर्ता लिएनन् । संयुक्त सदनबाट नियमावली पारित गर्नका लागि निर्णयार्थ प्रस्तुत भएकोमा बहुमतले पारित भएको घोषणा सभामुखले गरेका हन् ।
संसद्को दुवै सदनको बैठक सोमबार बस्ने
काठमाडौं । संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् । बैठक साँझ ४ बजेका लागि बोलाइएको छ ।