६७ अर्बले बढेर २० खर्ब ८० अर्ब पुग्यो सरकारको सार्वजनिक ऋण

काठमाडौँ । सरकारको सार्वजनिक ऋण एक वर्षमा ६७ अर्बले बढेको छ । अर्थ मन्त्रालले सार्वजनिक गरेको चालु वर्षको आर्थिक सर्वेक्षण २०७९/८० ले सरकारको कुल सार्वजनिक ऋण बढेर २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको हो उल्लेख गरेको हो ।
२०७९ फागुनसम्म आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड पुगेको थियो । जस अनुसार सरकारको कुल सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्बमा पुगेको हो । अघिल्लो वर्ष असारसम्म यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ थियो। जसमा आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड हुँदा बाह्य ऋण भने १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्ष ऋण दायित्वमात्रै ६७ अर्ब रुपैयाँले बढेको हो ।
एक वर्षमा सरकारले आन्तरिक भन्दा बढि विदेशी ऋण उठाउँदा त्यसको दबाब सार्वजनिक ऋणमा पर्न पुगेको हो । २०७९ फागुनसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक र विदेशी ऋणको अनुपात क्रमश ४८.६ प्रतिश र ५१.४ प्रतिशतमा पुगेको हो ।
सावाँ बापत ८० अर्ब रुपैयाँ चुक्ता
६७ अर्बले ऋण बढाएको सरकारले चालु आर्थिक वर्षमा ८० अर्बले ऋणको साँवा चुक्ता गरेको छ । सर्वेक्षणमा २०७९÷८० को फागुनसम्म ८० अर्ब ९९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको हो । जसमा सरकारले ६२ अर्ब १७ करोड रुपौयाँ आन्तरिक तर्फ ऋण चुक्ता गरेको छ भने बाह्य तर्फ १८ अर्ब ८२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ४२ अर्ब ९१ करोड २३ लाख रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको थियो । यस्तै, सरकारले कुल २० खर्ब ८० अर्ब ऋणको ब्याज बापत ४० अर्ब ६८ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो । जसमा आन्तरिक ऋण तर्फको ब्याजमा ३५ अर्ब ३५ करोड र बाह्यतर्फ ५ अर्ब ३३ करोड रुपैयाँ ब्याज भुक्तान गरेको हो । गत वर्ष भुक्तान गरेको यस्तो रकम २३ अर्ब ५५ करोड रुपैयाँ थियो ।