राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको छ : प्रधानमन्त्री


१४ जेष्ठ २०८०, आईतवार
Prachanda 9
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका विषयलाई लिएर सकारात्मक सुझाव प्राप्त भएको बताएका छन् । अहिलेसम्म भारत भ्रमणबारे पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सुझाव लिइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अब पूर्व राजदूत, विज्ञको पनि सुझाव लिन्छु । सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनु भएको छ ।’ उनले राष्ट्रिय सहमतिमै आफ्नो भारत भ्रमण हुने दावी गरे ।
छलफलमा सहभागीहरूले प्रधानमन्त्री प्रचण्डलाई छिमेकी देश भारतसँग राम्रो सम्बन्ध बनाउन विश्वासको वातावरण बनाउनुपर्ने सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा नाकामा आधाआधा पानी, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयलाई अगाडि बढाउन सुझाव दिएको बताएका छन् ।

उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले एयर इन्ट्री रुट दिन भारत सरकारलाई आग्रह गर्नुपर्ने सुझाव दिएको बताएका छन् । यस्तै नेकपा एमालेका उपमहासचिव समेत रहेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजी प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री प्रचण्डले विशेष जोड दिनुपर्ने सुझाव दिएको बताएका छन् । उनले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्नेमा सुझाव दिएको बताए ।

पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा सबै दलहरू एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । यस्तै उनले वाणिज्य सन्धिको पुनरावलोकन र नेपालका उत्पादनप्रति उदारताका लागि पहल गर्नुपर्नेमा सुझाव दिएको बताए । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७