भारतले जित्यो काभा महिला भलिबल च्यालेञ्ज कपको उपाधि


१४ जेष्ठ २०८०, आईतवार
india

काठमाडौं । कजाकस्तानलाई ३–० को सोझो सेटले पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेञ्ज कप–२०२३ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा भारतले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेटमा २५–२२ को नतिजा निकालेको भारतले तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । आजै भएको खेलमा उज्वेकिस्तानविरुद्ध ३–१ सेटको नतिजामा जित निकाल्दै नेपालले तेस्रो स्थान हासिल गरेको थियो । नेपालले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेटमा जित निकाल्यो ।

पहिलो सेट २०–२५ ले भ्रमणकारी उज्वेकिस्तानलाई सुम्पिएको नेपालले दोस्रो सेटमा २५–१६ को जित निकालेको थियो । खेलमा निरन्तर दबाब बनाउँदै गएको नेपालले तेस्रो सेट २५–१५ तथा चौथो सेट २५–१३ ले जित्यो । जेठ आठ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल समूह ‘ए’ मा भारत, किर्गिस्तान र बंगलादेशसँग परेको थियो । समूह चरणमा भारतसँग मात्रै पराजित नेपाल समूह उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा कजाकस्तानसँग २–३ को नतिजामा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो । उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स समेत रहेको समूह ‘बी’ बाट कजाकस्तान समूह विजेता तथा उज्वेकिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७