गाउँपालिकाका तीन कर्मचारीविरुद्ध पाँच लाख भ्रष्टाचार आरोपमा मुद्दा


१४ जेष्ठ २०८०, आईतवार
akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय र सवइन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

सो सम्बन्धी उजुरी उपर अनुसन्धान हुँदा कर्मचारीहरुले आव २०७५/०७६ को तिला गाउँपालिका वडा नं १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताव तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस गरेकोमा सोही बमोजिम भुक्तानीको टिप्पणी र आदेश भई पाँच लाख ४५ हजार ४१९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

अख्तियारले हरिश्चन्द्र नेपाली सार्की, जनक रोकाय र प्रेमबहादुर बस्नेतलाई भ्रष्टाचार गरेको रकम बराबर बिगो कायम गरी सोही बिगो बमोजिम जरिबाना मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७