टीकापुरमा मारिएका प्रहरी र बालकको परिवारले पनि न्याय पाउनु पर्छ : रेशम चौधरी

‘अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं’


१५ जेष्ठ २०८०, सोमबार
resam chaudhari 2 jNJcFnL77b

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी गरेपछि उनी आज जेलबाट छुटेका हुन् ।

डिल्लीबजार कारागारबाट छुटेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले आफू निर्दोष रहेको र दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले कसैले कसैलाई आरोप लगाएर नहुने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे ।
उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे । चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।
‘अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं’
रेशम चौधरीले आफूहरूले ‘मिसन २०८४’ थाल्ने बताएका छन् । उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् । ‘अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उनले भने । रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताए ।

उनले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताए । ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उनले भने । सिमेन्टका पिलर नहुँदा सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो गरे ।

उनले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताए । उनले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताए । यता सामाजिक सञ्जालमा भने चौधरीलाई राष्ट्रपतिले माफि दिन गणतन्त्रको उपहास भएको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७