बजेट पास र भारत भ्रमणका एजेण्डा टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै


१५ जेष्ठ २०८०, सोमबार
Prachanda cabinet jeth 12 1 scaled

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न मन्त्रिपरिषद् आज दिउँसो बस्ने भएको छ । सिंहदरबार बस्ने मन्त्रिपरिषद्को बैठकले पास गरेपछि संघीय संसद्मा अर्थमन्त्री प्रकाशशरण महतले आज दिउँसो ४ बजे पेश गर्ने छन् ।
यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको तर्फबाट समावेश गर्ने एजेन्डा र प्रतिनिधि मण्डलको विषय पनि टुंगो लगाउने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

‘भ्रमणमा को–को जाने ? प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा को–को रहने भन्ने विषयमा निर्णय भइसकेको छैन । भ्रमणका विषयहरू मन्त्रालयले तयार गरिरहेका छन्। करिब करिब अन्तिम–अन्तिम चरणमा पुगेको छ । खासगरी ऊर्जासँग सम्बन्धित विषयहरु छन् । कैयन् कुराहरू हाम्रा सीमाहरु पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णय चाहिँ भइसकेको छैन । भोलिको बैठकबाट अन्तिम टुंगो लगाउँछौं ।’

शर्माले आइतबारको बैठकपश्चात भनेकी थिइन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा त्यहाँ कुराकानी हुन्छ । त्यहाँ सम्झौता हुन्छ । मन्त्री जानुपर्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ । जानैपर्ने आवश्यकबाहेक अरू जाने कुरा हुँदैन । त्यो को–को पर्ने औपचारिक अझै निर्णय भएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । यस अगाडि शनिबार नेपाल र भारतका मन्त्रालयले विज्ञप्तिमार्फत औपचारिक भ्रमणको जानकारी दिए पनि भ्रमण राजकीय हुने/नहुने उल्लेख गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७