एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी, बाइडेनले दिए बधाइ


१५ जेष्ठ २०८०, सोमबार
Biden

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् ।

एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भिडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिए । उनले भने, ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा ग¥यौँ । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा आठ करोड ५० लाख नागरिक हुन्,’ उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने । उता निर्वाचनमा पराजित प्रतिद्वन्द्वी किलिचदारोग्लुले राजधानी अंकारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।

‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौँ । यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,’ उनले भने । एर्दोगानले खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्दा विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।

बाइडेनले ट्वीटमा लेखेका छन्, ‘टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुनः निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहन्छु ।’ आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो । त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्, ‘राष्ट्रपति एर्दोगानलाई पुनः निर्वाचित भएकोमा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँ छ । टर्की एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु ।’
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । ।

एर्दोगानले खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेको सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत प्राप्त गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७