असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै


१६ जेष्ठ २०८०, मंगलवार
Garva nirodhak
सांकेतिक तस्वीर

दाङ । दाङ घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गरेकी थिइन् । गाउँकै मन मिल्ने साथी भेटेपछि उनले घर परिवारलाई थाहै नदिइ भागेर बिहे गरिन् । चौधरीका अहिले एक छोरा र एक छोरी छन् ।

उनलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो । पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमानसँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेपछि समस्या भयो । नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खाएकी उनले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गरिन् ।

घोराही–१ की २५ वर्षीया नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए । उनलाई सन्तानको रहर पुगिसकेको थियो । अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरि गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई सतायो र घरपरिवारले यसबारेमा साथ नदिँदा उनले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताइन् । नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अझै पनि सानै उमेरमा गर्भपतन गर्नेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झण्डै १० प्रतिशत रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको संख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको संख्या नौ दशमलव छ प्रतिशत रहेको पाइन्छ ।

दिगो विकास लक्ष्य २०३०अनुसार महिलाले आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफै निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४/७५ मा छ दशमलव दुई प्रतिशत रहेकामा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव छ प्रतिशत पुगेको छ । सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको संख्या बढेको देखिँदा असुरक्षितरुपमा पनि गर्भपतन गराउनेको महिलाको संख्या पनि उत्तिकै रहेको आंकलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको संख्या बढेको देखिएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरु पनि छन् ।

लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन् । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ । यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताए ।

‘सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ । यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ’, उनले भने, ‘अझै पनि छोराको आशामा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरु पनि आइरहन्छन् । यस्ता कार्यलाई नियमन गर्न अझैं कानुनी दायरालाई बढाउन जरुरी छ ।’

वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको बताइन् । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७