कोशीमा आन्दोलन चर्किएपछि सरकारद्धारा पहिचानवादीलाई वार्ताका लागि आह्वान


१६ जेष्ठ २०८०, मंगलवार
साकेला kirat rai sakela 13 scaled

मोरङ : कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । वक्तव्यमा नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गरेका हुन् ।

नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार कोशी नामकरण रहन पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मन्त्री सिटौलाले नागरिक चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यको समर्थनमा प्रदेशको नामकरण भएको बताएका छन् ।

यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।

यसैबीच आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् ।

कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु मंगबलार साझ रिहा भएका हुन् ।

१४ जेठमा विराटनगरस्थित देवकोटा चोकदेखि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु पक्राउ परेका थिए । यसरी रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् ।

यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन् ।

रिहा भएका पहिचानवादी नेता तथा कार्यकताहरूलाई वडा प्रहरी कार्यालय विराटनगर अगाडी फुल माला र अविरल लगाएर स्वागत गरेका थिए । उनीहरूले कोशी प्रदेश खारेजी गरी पहिचानको आधरमा नामरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् ।

उनीहरुले बुधबार गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन् । पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकताहरु रिहा भएपछि आमहडतालको कार्यक्रम फिर्ता लिएपनि शान्तिपूर्ण आन्दोलन जारी रहेको पहिचानवादी नेता अर्जुन जम्मेली राईले जानकारी दिए ।

संघर्ष समितिले मंगलबार एक विज्ञाप्ती जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहका घाइतेसमेत गरी ८६ जनालाई गरिफतार गरेको भएपनि बार्तापछि रिहा भएका छन् ।

आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको जनाएको छ ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७