रेशम चौधरीलाई माफीविरुद्ध सर्वोच्चमा दर्ता मुद्दाको आज पेसी


१७ जेष्ठ २०८०, बुधबार
Resham chaudhari

काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गर्दै आएका रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको आज (बुधबार) सुनुवाइ हुँदैछ । । सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीको १५ वर्ष कैद सजाय मिनाहा गरेको थियो । सरकारको निर्णयबमोजिम चौधरी डिल्ली बजार कारागारबाट सोमबार मुक्त भइसकेका छन् ।

चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता भएको हो । रिट निवेदनमा प्रारम्भिक सुनुवाइका लागि आज (बुधबार) पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । टीकापुर घटनाबाट पीडित शारदा कठायत बोहोरालगायतले चौधरीको सजाय माफी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् । कठायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् ।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय ठेकिएका चौधरी डिल्ली बजार कारागारमा थुनामा थिए । सरकारले सजाय मिनाहा नगरेको भए अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सरकारले ‘राजनीतिक सौदाबाजी’मा चौधरीको बाँकी सजाय मिनाहा निर्णय गरेको हो ।

२०७२ साल भदौ २७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । सोही अपराधमा चौधरीलाई अदालतबाट जेल सजाय सुनाइएको थियो ।
टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहरा, हबल्दार श्यामबहादुर खड्का, पहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद, सहायक हबल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७