आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

याङ्जीले पुर्‍याइन् राष्ट्रपतिको फोटो सगरमाथा चुचुरोमा


१७ जेष्ठ २०८०, बुधबार
Yanji

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे ।

उनले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिला आरोहीहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्वीर सो अवसरमा हस्तान्तरण गरिन् ।

संखुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्वीर सगरमाथाको चुचुरोमा पुर्‍याउने सङ्कल्प लिएकी थिइन् । अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको संख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए । कार्यक्रममा संखुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७