नेपालमा ८१ प्रतिशत हिन्दु, धेरै जनसंख्या भएको जाति क्षेत्री


२० जेष्ठ २०८०, शनिबार
Pashupatinath Temple

काठमाडौं : नेपालमा १२ औं राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हो ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।

त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।

नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री

यसैगरी नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ । कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।

त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११. २९ छ भने तेस्रो नम्बरमा मगर ६।९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६. २ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

त्यस्तै, ११ जातिको संख्या एक हजार भन्दा कम रहेको विवरणमा देखिएको छ । जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ ।

कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।

 जातजातिको संख्या पुग्यो १४२

यसैगरी नेपालमा जातजातिको संख्या १४२ पुगेको छ। जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।

जनगणना २०६८ मा १२५ जातजाति थिए। जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७