महानगरको पहिलो प्राथमिकता नगरबासीलाई रोग लाग्न नदिनु हो : उपमेयर डंगोल


२० जेष्ठ २०८०, शनिबार
sunita dangol SCum8sDJmp
फाइल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले काठमाडौ महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।

आज (शनिबार) काठमाडौँमा नेपाल मधुमेही समाज र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको बताइन् ।

उनले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन् । उनले धेरै जना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताइन् । उनले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताइन् ।

उनले मानिस स्वास्थ्य रहे मात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने बताइन् । उनले स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने बताइन् । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने बताइन् ।

उनले भनिन्, ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’ अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७