इजलासमा केशव दुलालको बयान : बादल, प्रेम राई र राजेश बज्राचार्यलाई मैले कुनै रकम दिएको छैन (पूर्णपाठ सहित)

प्रहरीको प्रतिवेदनमा एमाले नेताहरु विरुद्ध दिएको बयान केशव दुलालद्धारा इजलासमा इन्कार


२० जेष्ठ २०८०, शनिबार
Keshab Prasad Dulal

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य लगायतलाई कुनै रकम नदिएको बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा गत १२ जेठमा बयान दिँदै दुलालले भनेका छन्, ‘रामबहादुर थापा ‘बादल’, प्रेमकुमार राई, डा. अजय क्रान्ति, राजेश्वर स्थापित, राजेश ब्रजाचार्य, लिला जिसी र टोपबहादुर रायमाझीलाई म, मेरा आफन्त र कुनै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिनु भनि कुनै रकम दिएको छैन ।’

नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले गत ९ जेठ २०८० मा सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा बादल, राई र बज्राचार्य लगायतलाई पैसा दिएको बयान समावेश थियो ।

सो प्रतिवेदन सरकारी वकिलले अध्ययन नगर्दै प्रहरीकै उच्च अधिकारीहरुले सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका थिए । सरकारी वकिलले अध्ययन नै नगरी प्रहरी उच्च अधिकारीले सञ्चार माध्यमलाई दिएर प्रोपोगान्डा गरिएको भन्दै तिव्र आलोचना समेत भएको थियो ।

तर जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनले त्यो बयानलाई अस्वीकार गर्दै इन्कारी बयान दिएका हुन् ।

प्रहरीले करकापमा बयान गराएपछि आवेशमा बोले

यसैगरी दुलालले प्रहरीले करकापमा बयान गराएको पनि बताएका छन् । उनले भनेका छन्, ‘रेकर्ड गरिएको आवाज मेरो हो भन्ने सम्बन्धमा मलाई प्रहरीले पक्राउ गरी करकापमा बयान गरेको अवस्थामा मैले आवेशमा आई बोलेको कुरा हो । उक्त रकम मैले कसैलाई दिएको छैन । सानु भण्डारीले इन्द्रजित राई र नैनकला थापालगायतलाई रकम दिएको सम्बन्धमा मलाई केहि थाहा भएन ।’

इजालसको सवाल–जवाफ (पूर्णपाठ)


१) सवाल– तपाईको बाबु–आमाको नाम, थर, उमेर के हो ? स्थायी ठेगाना कहाँ हो ? सम्पर्क नम्बर के हो ? पेसा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ ? विस्तृत विवरणसहित खुलाई दिनुहोस् ।

जवाफ : बुबाको नाम नारायणप्रसाद दुलाल, आमाको नाम उमाकुमारी दुलाल, केशवप्रसाद दुलाल हो । उमेर ५० वर्षको भएँ । मोरङ जिल्ला पथरी शनिश्चरे वडा नम्बर १० घर भई हाल ललितपुर जिल्ला, हात्तीवन ऐरावतमा बस्दछु । मेरो मोवाइल नम्बर ९८५११३२९९९ हो । जग्गा जमिन खरिद विक्रीको कारोबार र राजनीति गर्छु ।

२) सवाल– आज अदालतमा किन आउनु भएको हो ?
जवाफ
: गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्र साथ बयानका लागि उपस्थित भएको हुँ ।

३) सवाल–तपाईलाई तपाई उपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर छैन, तपाईले दिएको बयानको विरुद्ध प्रमाण लाग्न सक्छ, तपाई बयान दिन तयार हुनुहुन्छ ?
जवाफ
–मलाई अभियोगपत्र व्यहोरा सम्बन्धमा थाहा भयो । म बयान दिन तयार छु ।

४) सवाल– तपाईले यो भन्दा अगाडि कुनै फौजदारी अभियोग सजाय पाउनु भएको छ, छैन ? खुलाई दिनुहोस् ।
जवाफ
–यस भन्दा अगाडि फौजदारी कसुरमा सजाय पाएको छैन र कुनै मुद्दा विचारधीन अवस्थामा समेत छैन ।


५) सवाल–तपाईको शारीरिक र मानसिक अवस्था कस्तो छ ? तपाईलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ हुन्न ? तपाईले कानुन व्यावसायी राख्नु भएको छ, छैन ? कानुन व्यावसायी राख्न सक्नु हुन्छ, हुन्न ?
जवाफ
– मेरो शारीरिक र मानसिक अवस्था ठिक छ । म सोधिएका प्रश्नहरुको जवाफ दिन सक्छु । मैले कानुन व्यावसायी राखेको छु ।


६) सवाल– प्रतिवादीहरुमध्ये क–कसलाई चिन्नु हुन्छ ? निजहरुसँग लेनदेन, रिसइबी, झगडा छ, छैन ?
जवाफ
–प्रतिवादीमध्येका सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दस्प रायमाझी, टेकनारायण पाण्डे, बालकृष्ण खाँण, टेकनाथ रिजाल समेतलाई चिन्दछु । दीपा हुमागाई (मेरो श्रीमती हुन्) मेरो श्रीमती तत्कालीन अवस्थामा बेहोस हुने, मुर्छा पर्ने विरामी भइ राख्थिन् । डाक्टरसँगको परामर्श पछाडि क्यान्सर भएको पत्ता लाग्यो र अपरेसन गरी हाल निरन्तर फलोअपमा छिन् । निरज राई, प्रतिक थापा समेतलाई चिन्दछु । पतिवादी विक्रम भन्ने गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमसेर मियाँ, केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी समेतलाई चिन्दछु ।

सानु भण्डारीको डायरीमा मेरो नाम लेखी उल्लेख भएको रकम सानु भण्डारीमार्फत इन्द्रजित राईलाई बुझाउन मैले दिएको रकम भन्ने सन्दर्भमा डा. इन्द्रजित राईलाई दिन भनि दिएको होइन, निज सानु भण्डारीसँग मेरो घर जग्गाको कारोबारको लागि लेनदेन भएको कुरा डायरीमा उल्लेख भएको हो । टंककुमार गुरुङ मेरो घरपेटी हुन् । मेरो उनीसँग कुनै लेनदेन छैन । प्रतिक थापाले म र मेरो आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनि नक्सालस्थित निलगिरी थकाली भान्साघरमा बोलाई रु पच्चिस लाख नगदै लिएका हुन् । हामी ठगिएको थाहा पाई पैसा फिर्ता माग्दा उल्टै डर, धाकधम्की दिई हालसम्म पैसा फिर्ता दिएका छैनन् । अन्य प्रतिवादीहरु कसैसँग पनि रिसइबी झगडा छैन ।


७) सवाल– जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरुले तपाई समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनि रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरु छन्, सो सम्बन्धमा तपाईलाई के थाहा छ ? को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरे अनुसारको कसुर गर्नु भएको हो ? खुलाई दिनुहोला ।
जवाफ– जाहेरी दरखास्तमा जाहेरवालाहरुले दावी गरेको कुरा झुट्टा हो । जाहेरवालाहरु कसैसँग मेरो चिनजान सम्पर्क छैन । जाहेरवालाहरुको दावी असत्य, कपोकल्पित र झुट्टा हो यसमा कुनै सत्यता छैन । यस सम्बन्धमा मलाई केहि थाहा भएन ।


८) सवाल– तपाईलाई सह–प्रतिवादी टंककुमार गुरुङ, सागर राई, सानु भण्डारी, सन्देश शर्मा, डां इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, रामशरण केसी, विक्रम भन्ने गोविन्दकुमार चौधरी, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, शमसेर मियाँ, आङटावा शेर्पा, टेकनाथ रिजाल समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयान समेत पढीबाची सुनाइन्छ निजहरुले गरेको उक्त बयानहरुको सम्बन्धमा तपाईको के भनाई छ ? खुलाई दिनु होला ।
जवाफ : माथि उल्लेखित सह–प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान व्यहोरा सुनि पाएँ । प्रतिवादी टंककुमार गुरुङले गरेको बयानका सन्दर्भमा उनी मेरो काठमाडौंको घरपेटी हुन् । उनको भनाई सम्बन्धमा मेरो केहि छैन । अर्का प्रतिवादी सागर राई मेरो गाउँको भाइ हुन् । उनको भनाई सम्बन्धमा मेरो केहि छैन । प्रतिवादी सानु भण्डारीको भनाई सम्बन्धमा समेत मेरो केहि छैन । सन्देश शर्माको बयान सम्बन्धमा सन्देश शर्माले मलाई लगाएको आरोप झुट्टा हो । जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीसँग मेरो कुनै चिनजान र सम्पर्क छैन । मैले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनि निजहरुसँग कुनै रकम ठगी गरेको छैन । सन्देश शर्मालाई मैले कुनै कागजपत्र पठाएको छैन । सबै झुट्टा आरोप लगाएका हुन् । मेराविरुद्ध जे जति आरोप लगाएका छन्, सबै असत्य, कपोकल्पित र झुट्टा हुन् । प्रतिवादीहरुको बयान सम्बन्धमा मलाई केहि थाहा भएन । इन्द्रजित राईसँग भुटानी शरणार्थीसम्बन्धी मेरो कुनै कुराकानी भएको छैन र कुनै लेनदेन भएको छैन । उनले दिएको बयानको सम्बन्धमा मलाई केहि थाहा छैन । सह–प्रतिवादी टेकनारायण पाण्डेसँग मेरो चिनजान भए पनि भुटानी शरणार्थीसम्बन्धी कुनै कुराकानी भएको छैन र उहाँलाई मैले कुनै रकम दिएको छैन । सन्दीप रायमाझीलाई म चिन्दछु । उनी व्यापारी हुन् । उनको बयान पढीबाची सुनि पाएँ । उनको बयानका सम्बन्धमा मलाई केहि भन्नु छैन । उनीसँग मेरो भुटानी शरणार्थीसम्बन्धी कुनै कुरा भएको छैन र मसँग कुनै रकम लेनदेन भएको छैन । सह–प्रतिवादी रामशरण केसीसँग मेरो कुनै चिनजान सम्पर्क छैन । निजलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनि कुनै कुराकानी गरेको छैन । निजसँग मैले कुनै रकम लिएको छैन । निजले लगाएको आरोप कपोलकल्पित, असत्य र झुट्टा हो । यसमा कुनै सत्यता छैन । सह–प्रतिवादी विक्रम भन्ने गोविन्द चौधरीसँग मेरो कुनै चिनजान सम्पर्क छैन । निजले दिएको बयानमा मैले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन कागजात बनाई रकम लिई अमेरिका पठाई दिने भनि आरोप लगाएका रहेछन् । चिनजान नभएको व्यक्तिसँग कागजात बनाउने रकम लिने भन्नु कुरै हुँदैन । निजले लगाएको आरोप झुट्टा हो यसमा कुनै सत्यता छैन । उनले दिएको बयानका विषयमा मलाई केहि थाहा भएन । सह–प्रतिवादी नरेन्द्र केसीसँग मेरो कुनै चिनजान सम्पर्क छैन । निजलाई मैले कुनै रकम दिएको छैन । निजसँग मेरो आर्थिक कारोबार छैन । टोपबहादुर रायमाझीसँग भुटानी शरणार्थीसम्बन्धी मेरो कुनै कुराकानी भएको छैन । निजलाई मैले कुनै रकम दिएको छैन । निजसँग मेरो आर्थिक कारोबार छैन ।
टोपबहादुर रायमाझीसँग भुटानी शरणार्थीसम्बन्धी मेरो कुनै कुराकानी भएको छैन । निजलाई मैले कुनै रकम दिएको छैन । बालकृष्ण खाँण नेपाली कांग्रेसको नेता भएको कारणले चिन्दछु । उहाँसँग भुटानी शरणार्थीसम्बन्धी कुनै कुरा भएको छैन । उहाँलाई मैले कुनै रकम दिएको छैन । शमसेर मियाँसँग मेरो कुनै चिनजान सम्पर्क छैन । उनले दिएको बयानमा मलाई झुट्टो आरोप लगाएका छन् त्यसमा कुनै सत्यता छैन । उनले मलाई फसाउने नियतले आरोप लगाएका हुन् । यो निराधार, कपोलकल्पित कुरा हो । सह–प्रतिवादी आङटावा शेर्पासँग मेरो कुनै चिनजान सम्पर्क छैन । निजसँग भुटानी शरणार्थीका विषयमा कुनै कुराकानी भएको छैन । निजले गरेको बयानका विषयमा मलाई केहि थाहा छैन । सह–प्रतिवादी टेकनाथ रिजाल भुटानी शरणार्थी नेता हुन् भनेर चिनेको हुँ । निजसँग भुटानी शरणार्थी विषयमा कुनै कुरा भएको छैन । निजले दिएको बयान सम्बन्धमा टोपबहादुर रायमाझीलगायतका विभिन्न व्यक्तिहरुसँग भुटानी शरणार्थीका विषयमा कुराकानी भएको र नेपालीहरुलाई शरणार्थी बनाई अमेरिका पठाई दिने भन्ने बयान दिनु भएको रहेछ निजको बयान असत्य र झुट्टा हो । यस सम्बन्धमा मलाई केहि थाहा भएन । निजलाई मैले कुनै रकम दिएको छैन ।


९) सवाल–तपाईले अधिकार प्राप्त अधिकारी समक्ष गर्नु भएको सबै बयानहरु व्यहोरा पढीबाची सुनाइन्छ, सो बयानहरुको व्यहोरा तपाईको हो वा होइन ? र उक्त बयानहरुमा भएका सहीछापहरु तपाईका हुन् वा होइनन् ?
जवाफ :
बयानमा लेखिएको जाहेरवालाले दावी दिएको झुट्टा हो । सन्देश शर्मालाई मैले रकम दिएको भनि बयानमा उल्लेख गरेको थिइन् । रोशन खरेलबाट मेरो श्रीमतीको खातामा आएको रकम घरजग्गा कारोबारका लागि लिएको हो । मेरो श्रीमती बिरामी भई असक्त अवस्थामा भएको बखत श्रीमतीको खाता मैले सञ्चालन गर्ने अवस्थामा कारोबार भएको हो । निजसँग लिएको रकम मैले मेरो नामबाट निजको प्रभु बैंकको खातामा दाखिला गरिसकेको छु । यसै न्यायलयबाट निजको बैंक स्टेटमेन्ट झिकाई पाउँ । रेकर्ड गरिएको आवाज मेरो हो भन्ने सम्बन्धमा मलाई प्रहरीले पक्राउ गरी करकापमा बयान गरेको अवस्थामा मैले आवेशमा आई बोलेको कुरा हो । उक्त रकम मैले कसैलाई दिएको छैन । सानु भण्डारीले इन्द्रजित राई र नैनकला थापालगायतलाई रकम दिएको सम्बन्धमा मलाई केहि थाहा भएन । सानु भण्डारीलाई नै थाहा होला । प्रतिक थापाले मलगायत मेरा आफन्तहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनि विश्वास दिलाएपछि नगदै नक्सालस्थित निलगिरी भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलाको कोठामा पच्चिस लाख दिएको हो । रामबहादुर थापा बादल, प्रेमकुमार राई, डा. अजय क्रान्ति, राजेश्वर स्थापित, राजश ब्रजाचार्य, लिला जिसी र टोपबहादुर रायमाझीलाई म, मेरा आफन्त र कुनै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिनु भनि कुनै रकम दिएको छैन । बयानमा भएको सहीछाप मेरो आफ्नै हो ।


१०) सवाल–अनुसन्धानका क्रममा बुझिएका मानिसहरु मानबहादुर खत्री, सुष्मा चन्द, डम्बरबहादुर खत्री, दिलबहादुर कुसारी, वोधज्ञान रेग्मी, उपेन्द्रबहादुर बुढाथोकी समेतका व्यक्तिहरुको अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा पढीबाची सुनाइन्छ, निजहरुको भनाई व्यहोरा के कसो हो ? खुलाई दिनुहोस् ।
जवाफ :
अनुसन्धानका क्रममा बुझिएका मानिसहरुले गरेको घटना विवरण कागज व्यहोरा सुनाउँदा सुनि पाएँ । माथि उल्लेखित मानिसहरु समेतसँग मेरो कुनै चिनजान सम्पर्क छैन । निजहरुले मलाई लगाएको आरोप झुट्टा हो । मलाई यस मुद्दामा फसाउने नियतले गरेको कागज हो । मैले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनि कसैसँग कुरा गरेको छैन । कसैसँग ठगी गरेको छैन । म एक सच्चा राष्ट्रवादी नेपाली नागरिक हुँ । अन्तराष्ट्रिय जगतमा राष्ट्रि छवीको अपमान हुने कार्यको म कल्पना गर्न पनि सक्दिनँ । यस कार्यमा म संलग्न छैन । राष्ट्रको अपमान भएको कुरामा म दुःखी छु । माथि उल्लेखित मानिसहरुले गरेको कागज कपोकल्पित, असत्य र मलाई फसाउने नियतले गरिएको हो ।


११) सवाल– तपाई उपर मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २०७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन्, मुलुकी अपराध संहिता २०७४ को दफा ५१ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध विवारण ऐन २०७० को दफा (३) को उपदफा (१) (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोगमा मागदावी लिएको छ र जाहेरवालाहरुको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तपाई समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदावी लिएको अभियोगपत्र छ, सो अभियोग मागदावी बमोजिम तपाईलाई सजाय हुनुपर्ने हो, होइन ? र जाहेरवालाहरुको रकम तपाई समेतले फिर्ता दिनु पर्ने हो वा होइन ? सम्पूर्ण व्यहोरा खुलाई दिनुहोस् ।
जवाफ
– मिसिल संलग्न रहेको अभियोगपत्र र मागदावी सम्बन्धमा पढीबाची सुनाउँदा सुनि पाएँ । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) (२) अन्तर्गतको कसुर, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) (२) बमोजिमको कसुर मुलुकी अपराध संहिता २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसुर र संगठित अपराध निवारण ऐन २०७० को दफा (३) उपदफा (१), (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुर र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुर र सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिमको कसुर नगरेकाले सो अभियोग मागदावी बमोजिमको सजाय समेत हुनुपर्ने होइन । मैले केहि अपराध गरेको छैन, अभियोग दावीबाट मलाई सफाइ हुनु पर्दछ सफाइ पाउँ । जाहेरी दरखास्तमा उल्लेख भएका सम्पूर्ण जाहेरवालाहरुसँग मेरो कुनै चिनजान सम्पर्क छैन । कुनै जाहेरवालाहरुबाट मैले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनि रकम लिएको छैन र मैले कसैलाई फिर्ता दिनु पर्ने पनि होइन ।


१२) सवाल– तपाईको परिवारमा कति जना सदस्य हुनु हुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाई दिनुहोस् ?
जवाफ
: मेरो परिवारमा तीन जना सदस्य छौं । म घर जग्गाको कारोबार गर्छु । काठमाडौं उपत्यकाको ललितपुरको हात्तीवन ऐरावत टोलमा श्रीमती दिपा हुमागाईको नाममा निर्माण भइराखेको घर छ । व्यक्तिगत ऋण लिएर घरजग्गाको कारोबार गर्ने शिलशिलामा निर्माण गरेको घर हो । परिवारमा सामान्य हिसावले खान लाउन पुग्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७