छायाङ्कनमा ‘ह्यासट्याग माया’


२१ जेष्ठ २०८०, आईतवार
hastag maya
चलचित्र ‘ह्यासट्याग माया’ को सुटिङ

काठमाडौं । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ ।

१४ दिनको तालिका तय गरिएको चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । ‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायाङ्कन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायाङ्कन गर्नेछौँ’, उनले भने । यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए ।

‘विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु’, उनले भने । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायाङ्कन काठमाडौँ र धरानमा समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षण समेत लिएकी थिइन् । ‘चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७