शरणार्थी प्रकरण : टोपबहादुरका बाबु–छोराको प्रतिरक्षामा बडालको बहस


२६ जेष्ठ २०८०, शुक्रबार
top bahadur 1

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज (शुक्रबार) पनि प्रतिरक्षा बहस भइरहेको छ ।
काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडालले बहस गर्दैछन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोगमा टोपबहादुर हाल हिरासतमा छन् । नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको हो ।

सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिन बहस गरेपछि बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस भइरहेको हो । नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ भने यीमध्ये १८ जनामात्र पक्राउ परेका छन् । १२ अभियुक्त फरार छन् ।

पक्राउ परेका १८ जनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्व सभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन् ।

नक्कली शरणार्थी प्रकरणका ३० प्रतिवादीविरुद्ध जेठ १० गते ठगी, लिखत कीर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता छ । यस प्रकरणमा सानु भण्डारी, टंक गुरुङ, सागर शर्मा, इन्द्रजीत राईलगायतको बहस सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७