बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल


२८ जेष्ठ २०८०, आईतवार
madhav nepal
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनु पर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार दुर्घटनामा पर्ने आशय व्यक्त गरे । उनले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने बताए ।

अध्यक्ष नेपालले बजेट तीन वटा जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् । पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आमनागरिकमा आशंका पैदा भएको छ ।

उनले भने, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई सच्याउनु पर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सरकार ढल्न दिनु हुँदैन, पाँच वर्षसम्म यो गठबन्धन चल्छ ।’

अध्यक्ष नेपालले भारतको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए । उनले कम्युनिस्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जाने गरेको प्रतिक्रिया दिएका छन् । हिजो शनिवार प्रधानमन्त्रीसहितको मन्त्रीमण्डल पशुपतिनाथ दर्शनका लागि पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७