जनयुद्धमा सामेल नभएकाहरूले प्रचण्डविरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौं : सचिव पौडेल


२९ जेष्ठ २०८०, सोमबार
devendra poudel

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सशस्त्र जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा हालेको बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज (सोमबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले सशस्त्र जनयुद्धमा सामेल नभएका र त्यसप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको उनले बताएका हुन् ।
उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेको आरोप लगाए । उनले शान्ति प्रक्रिया भाँड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिन लागेको बताउँदै माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने बताए ।

‘शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा देश निकै गम्भीर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ । शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । तर, दुर्भाग्य एकथरी तत्वहरू यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानुन बनाएर कानुनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन्,’ उनले भने ।

सशस्त्र विद्रोह र शान्तिप्रक्रियाको विषय राज्यको साझा भएको पौडेलको भनाइ थियो । उनले शान्ति प्रक्रिया भाँड्नका लागि विभिन्न गतिविधि भइरहेको उनको भनाइ थियो । उनले थपे, ‘विभिन्न रुपमा माओवादी पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काएर लिएर जाने जुन प्रकारको हर्कतहरू भएका छन् र पछिल्लो चरणमा केही व्यक्तिहरूले हामी जनयुद्धको हुँ भनेर अदालतमा गएर मुद्दा हाल्ने काम गरियो, मुद्दा हाल्नका निम्ति उक्साइयो ति पक्षहरूले शान्ति प्रक्रिया भाँड्न चाहन्छन् । हामी के खबरदारी गर्न चाहन्छौँ भने यस प्रकारको प्रवृत्तिले देशले शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न सक्दैन ।’

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाव दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रुपले प्रतिवाद गर्ने बताए । उनले भने, ‘केही तत्त्वहरूले प्रधानमन्त्री प्रचण्डलाई मनोवैज्ञानिक रुपमा टर्चर गर्ने र अरु नेताहरुलाई पनि टर्चर गर्ने काम गरेका छन् । हामी त्यसको वैचारिक प्रतिवाद गर्छौं । सैद्धान्तिक प्रतिवाद गर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७