टेकनाथ रिजालको गुनासो : भुटानमा यातना पाएँ, नेपालमा नेताहरुले फुटबल बनाए


३२ जेष्ठ २०८०, बिहीबार
Teknath rijal

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजालले आफूलाई फसाइएको गुनासो गरेका छन् ।
आज (बिहीबार) को थुनछेक बहसमा रिजालले आफूले पार्टीका शीर्ष नेताहरूलाई शरणार्थी समस्याबारेमा जानकारी गराउँदा समेत मतलब नगरेको र अहिले आफैलाई फुटबल बनाएको आरोप लगाएका हुन् । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आफ्नो पक्षको प्रतिरक्षा बहस सकिएपछि उनी सरकारी वकिलहरुविरुद्ध पनि खनिए ।

प्रतिरक्षा बहस सकिएपछि वकिलहरु बोल्ने स्थानमै पुगेर उनले आक्रोश व्यक्त गरे । ‘मलाई सरकारी वकिलले धेरै गाली गरे । को हुन् तिनीहरु ? के हिम्मतले गाली गर्दैछन् मलाई ?’, उनले भने, ‘तिनीहरुले मलाई धेरै भने तर किन त्यसरी ममाथि खनिए, मैले के गरेको थिएँ र ?’

उनले त्यसक्रममा भुटानमा जेल जीवनदेखि त्यहाँ बिताएको कष्टकर कहानी समेत सुनाए । त्यसक्रममा उनले आफूलाई नेपाली नेताहरुले धोका दिएको बताएका छन् । आफूलाई भुटानमा पनि दुख दिएको र नेपालमा पनि नेताहरुले धोका दिएको गुनासो गरेका उनले शरणार्थी समस्या समाधानमा धेरै पहल गरेको बताए । यसबारेमा आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा ती बिचौलिया, ठगहरू हुन् भन्दै पन्छिएको र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यो विषय जानकारी गराउँदा वेवास्ता गरेको उनले बताएका छन् ।

‘मैले शरणार्थी समस्या समाधानका लागि सबै नेताहरुलाई भेटेको थिएँ । मैले यसबारेमा शेरबहादुर देउवालाई सुनाउँदा ती त बिचौलियाहरु, ठग हुन् भने’, उनले न्यायाधीशलाई सुनाए, ‘मैले प्रचण्ड, केपी ओली सबैलाई भेटेर यो कुरा भनेको हो । तर कसैले पनि मतलब गरेनन् । मलाई फुटबल बनाइयो,’ उनले इजलासमा भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७