हत्यारालाई अब बाँचुन्जेल जेल


६ कार्तिक २०७४, सोमबार
jail
काठमाडौं : मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो । आगामी १ भदौदेखि मात्र कार्यान्वयनमा आउने मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरसम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ ।
jail

नयाँ मुलुकी ऐन कार्यान्वयन भएपछि जन्मकैदको सजाय पाउनेले २५ वर्ष जेल बस्नुपर्ने भएको छ । यसअघि जन्मकैदको गणना गर्दा २० वर्ष मानिँदै आइएकोमा नयाँ ऐनमा पाँच वर्ष थपिएको छ ।

घटनाको प्रकृतिअनुसार सजाय

नयाँ मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरमा सजाय निर्धारण गर्दा घटनाको प्रकृति, कसुरदारको अवस्था, मृतक वा पीडित पक्षको अवस्थालाई समेत मध्यनजर गरिएको छ । जानाजानी वा नजानेर गरिएका कसुरमा फरक–फरक सजाय निर्धारण गरिएको देवानी कानुनको संशोधन र एकीकरण गर्न गठित उपसमिति संयोजकसमेत रहेका कांग्रेस नेता राधेश्याम अधिकारीले बताए ।

कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गर्दा आत्मसंयमका लागि उत्तेजना दिलाउने व्यक्तिलाई हत्या गर्नेलाई १० देखि १५ वर्ष जेल सजाय र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ । मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा १० देखि १५ वर्ष वा हत्याको प्रकृति हेरेर जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ ।

कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मारे तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवाना हुनेछ । हेलचेक्र्याइँ गरी कसैको ज्यान मार्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयासम्मँ जरिवाना, कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था नयाँ मुलुकी ऐनमा गरिएको छ ।

बहुविवाह गरे पाँच वर्ष जेल

विवाहित पुरुषले अर्को विवाह गरे वा विवाहित पुरुष हो भनेर जान्दाजान्दै कुनै महिलाले त्यस्तो पुरुषसँग विवाह गरे एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । अंशबन्डा गरी भिन्न भएको अवस्थामा भने अर्को विवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

गर्भपतन गरे ६ वर्षसम्म जेल

जानीजानी गर्भपतन गर्ने वा गर्भवती महिलालाई करकाप गरेर गर्भपतन गराउने व्यक्तिलाई ६ वर्षसम्मको जेल सजाय तोकिएको छ । १२ हप्तासम्मको गर्भपतन गर्ने वा गर्न लगाउनेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना, २५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । गर्भवती महिलालाई कुनै रिसइबीले गर्भपतन हुने गरी काम गर्न लगाए त्यस्तो व्यक्तिलाई एक वर्षदेखि ६ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

बाँचुन्जेल जेल बस्नुपर्ने अपराध

– क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको

– अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको

– अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको

– सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको

– कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको

– जबर्जस्ती करणी गरी ज्यान मारेको

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७