धान रोपाइँको चटारोमा किसान


१३ असार २०८०, बुधबार
ropai

कैलाली । कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान बाली रहेकाले बोरिङको पानी तानेर भए पनि रोपाइँ गर्नै परेको धनगढीका किसान मानबहादुर चौधरीले बताए । ‘यसैबाट जीविका चलाउँनु छ, ब्याड तयार भइसकेकाले अहिले धान नरोपे कहिले रोप्ने, उखरमाउलो गर्मी भए पनि रोपाइँ गर्नै पर्‍यो’, खेत जोत्दै गरेको भेटिएका कृषक चौधरीले भने ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । ‘वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन’, उनले भने, ‘वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।’

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघि नै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताए ।

मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटक पटक गरी झण्डै १२५ मिमि मात्र वर्षाको मापन भएको छ । धान रोपाइँ गर्ने, हिलो बनाउने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्दा खेती गर्न पहिलेको भन्दा सजिलो भएको कृषकको अनुभव छ ।

यी औजारको प्रयोगले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढीका किसान वीरबहादुर रानाले बताए । ‘खेती गर्न र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ’, रानाले भने, ‘समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।’

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकासको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कैलाली जिल्लामा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७