बजेट पास गर्न सहयोग माग्दै जसपाको बैठकमै पुगे प्रधानमन्त्री

‘तपाईहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो, अहिले बजेट पास गरौं’


१३ असार २०८०, बुधबार
Prachanda back t india 4 scaled
फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू बजेटको विपक्षमा उभिने तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाको संसदीय दलको बैठकमै उपस्थित भएर सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

जसपाका १२ सांसदमध्ये ७ जना सांसदले विपक्षमा मतदान गर्ने अडान राखेपछि बुधबार संसद भवनस्थित शंकर हलमा बसेको जसपा संसदीय दलको बैठकमै प्रधानमन्त्री प्रचण्ड पुगेर बजेट पास गराउन सहयोग मागेका हुन् । यस क्रममा प्रधानमन्त्री प्रचण्डले जसपाका सांसदहरूलाई उनीहरूले भनेबमोजिम बजेट विनियोजन गरिदिने आश्वासन समेत दिएका छन् ।

‘म प्रधानमन्त्रीले नै बोलें, तपाईहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो । अहिले बजेट पास गर्न सहयोग गरिदिनुस्,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै जसपाका एक सांसदले सुनाए । जसपाका सांसदहरूले अध्यक्ष उपेन्द्र यादवको आग्रह अस्वीकार गर्दै आएपछि अन्ततः अध्यक्ष यादवको आग्रहमा प्रधानमन्त्री दाहाल नै बैठकमा गएर आश्वासन दिनुपरेको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिरहँदा जसपाका सांसदहरू भने दुई पक्षमा विभाजित भएका थिए । उनीहरूको बुधबारको बैठक २ घण्टा चल्दा पनि सहमति हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले बजेट पासका लागि सहमति मागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७