संसदमा बजेटमाथि पहिलोपल्ट मतदान : बहुमतले पारित

पक्षमा १४७, विपक्षमा १०८ र तटस्थ शून्य मत


१३ असार २०८०, बुधबार
parliament 2080 03 13b

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएको छ । बजेट बहुमतका आधारमा मत विभाजन गरेर पारित भएको हो । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको हो ।

आज (बुधबार) को प्रतिनिधि सभाको बैठकमा ध्वनि मतका आधारमा बहुमतले बजेट पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेको भए पनि एमाले सचेतक महेश बर्तौलाले मत विभाजनबाट निर्णय गर्न माग गरेसँगै मत विभाजनबाट बजेट पारित भएको हो ।

उपस्थित २५५ सांसद मध्ये बजेटको पक्षमा १४७ मत, विपक्षमा १०८ मत र तटस्थमा शून्य मत परेको छ । योसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट पारित भएको हो । जसमा जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा समेट्ने प्रस्ताव फिर्ता भएको छ । अन्य भने यथावत रहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएसँगै प्रक्रियामा लगेर सभामुख देवराज घिमिरेले बजेट ध्वनि मतको आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए । तर, एमालेका तर्फबाट सचेतक महेश बर्तौलाले विपक्षमा रहेका सांसद धेरै रहेको दाबी गर्दै मत विभाजनको माग गरेपछि प्रक्रियामा लगिएको हो ।

निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा भन्ने बजेटको व्यवस्था बाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ । बजेटका विनियोजनहरु संशोधन नभए बजेट नै पारित हुन नदिने धम्की दिँदै आएका एकीकृत समाजवादी र जसपाले यथास्थितिमै बजेटको पक्षमा उभिए । सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीले मात्र बजेट संशोधन नभएको भन्दै बजेटको विपक्षमा उभियो ।

विनियोजन विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गरियोस् भनेर अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेकोमा प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्नका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ दलहरू कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीले सांसदहरूलाई ह्वीप लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७