केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु


१४ असार २०८०, बिहीबार
Kerunga khola sima

भरतपुर । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो ।

खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् । ‘सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको छ’, महानगर प्रमुख दाहालले भनिन्, ‘व्यक्ति विशेष वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ ।’

केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए । उनका अनुसार उक्त खोला वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ । संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए ।

हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए । खोलाको संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए ।

‘केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रू १४ करोड विनियोजन भएको छ’, उनले भने, ‘केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रू तीन अर्ब बढी लाग्ने अनुमान गरिएको छ ।’ खोलामा डुङ्गा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्रयाक र ठाउँ ठाउँमा पार्क समेत निर्माण गरिने उनले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७