रथले हाइटेन्सन तार छुँदा ६ जनाको मृत्यु, १५ घाइते

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा एउटा रथ ओभरहेड हाइटेन्सन तारसँग छोइँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
घटना त्रिपुराको राजधानी सहर अगरतलाबाट एक सय २० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा बुधबार भएको हो । अधिकारीहरूका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका वेला दुर्घटना भएको हो । घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।