कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : अध्यक्ष ओली
‘गठबन्धनकै कारण सरकार टिक्दैन’

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए ।
अध्यक्ष ओलीले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।
अर्काे एक प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए । उनले भने, ‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो ।’ यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उनले भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो ।’ केही दिनपछि ११ किलो सुन कहाँ गयो ? भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे, ‘यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको ?’
असार १५ असारमा धान दिवस मनाउन यहाँ आएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भने, ‘राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।’ यहाँको जमिन उर्वर भएको भन्दै उनले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ओरालो गतिमा लागेको बताएका छन् । स्वार्थमा रुमलिएको कारण सरकार गठबन्धनकै कारण नटिक्ने उनले दावी गरे । अध्यक्ष ओलीले देश बनाउने संकल्प छोडेर स्वार्थमा लागेको आरोप लगाउँदै सत्ता गठबन्धन स्वार्थको गठजोड भएको ब्यङ्ग्य गरे । ‘यहाँ देश बनाउने संकल्पभन्दा स्वार्थको गठजोडहरूको स्वार्थ छ । स्वार्थको गठजोड फुट्ने गरी टकराउँदैन तबसम्म यो सरकार चल्छ,’ उनले भने ।

ओलीले पशुपतिको जलहरीको विषयलाई अनावश्यक उचालिएको बताए । जलहरीमा नाम लेखिएको विषयमा आफू जानकार नभएको भन्दै स्वभाविक भएको उनले प्रतिक्रिया दिए । भष्ट्राचारको फाइल नियमित प्रक्रिया भएको भन्दै सरकारले जस मात्रै लिएको उनले बताए ।