१७ सय नक्कली प्रमाणपत्र अख्तियारले छानविन गर्दै


२६ बैशाख २०७५, बुधबार

काठमाडौं, २६ बैसाख । नक्कली प्रमाण–पत्र भजाएर सरकारी सेवा लिने मात्र होइन दुरुपयोग समेत गरिएका घटनाहरु एकपछि अर्को गरी बाहिरिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र छानविन गर्ने भएको छ ।

aakhtiyar
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय । तस्विर : नयाँपेज फाइल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै साथ एक हजार ७ सय नक्कली प्रमाणपत्रधारी कर्मचारीमाथि छानबिन भइरहेको अख्तियारले जनाएको छ । अदालतका नक्कली फैसला, नक्कली चिकित्सक र अख्तियारकै कीर्ते निर्णयका घटना सार्वजनिक भइरहेका बेला हुन लागेको प्रमाणपत्र छानविनलाई सर्वसाधरणले समेत निकै चासोका साथ हेरेका छन् ।अख्तियारका अनुसार सबैभन्दा बढी नक्कली प्रमाणपत्रधारी कर्मचारीको बिगबिगी संवेदनशील क्षेत्र शिक्षा र सुरक्षामा छ । त्यसपछि निजामती सेवा, बैंक र संस्थानमा नक्कली प्रमाणपत्रधारी कार्यरत छन् । शैक्षिक योग्यता सम्बन्धमा परेका उजुरीको अनुसन्धानबाट विभिन्न सरकारी कार्यालय, प्रहरी सेवा, संस्थान र शैक्षिक निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले भारतका विभिन्न बोर्डका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ठूलो संख्यामा सेवामा प्रवेश गर्न सफल भएका हुन् ।

अख्तियारको अनुसन्धानले भारतका विभिन्न बोर्डका नाममा अनुचित लाभ लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर पेस गरेको देखाएको छ । ‘अहिले अख्तियारले नक्कली प्रमाणपत्र पेस गरेर सरकारी सेवामा कार्यरत १ हजार ७ सयमाथि छानबिन गरिरहेको छ । शुरु नियुक्त र बढुवाका लागि नक्कली प्रमाणपत्र बनाएको भेटिएको छ’, अख्तियार प्रवक्ता एवम् सहसचिव दीर्घराज मैनालीले भने, ‘लोकसेवा आयोग नै पास गरेर आएकामा समस्या थोरै छ ।

अन्यत्र बढी समस्याग्रस्त देखिएको छ ।’ छानबिन भइरहेका कर्मचारीमध्ये आधाभन्दा बढी शिक्षक छन्न् । त्यसपछि स्वास्थ्य, प्रहरी सेवा र संस्थानका छन् । अख्तियारका अनुसार छानबिनमा सम्बन्धित विषयका विज्ञलाई खटाइएको छ । अख्तियारको अनुसन्धानले शिक्षा, स्वास्थ्य, निजामती, बैंक, संस्थान, प्रहरीमा नक्कली प्रमाणपत्रसम्बन्धी समस्या जटिल देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७