सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : अध्यक्ष नेपाल


१६ असार २०८०, शनिबार
Madhav Nepal 3
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको तथा सुशासनको प्रत्याभूति दिन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

यस क्रममा उनले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र सेवा प्रवाहको काम प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरेका थिए । जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो ।

‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनु पर्नेछ । जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ,’ अध्यक्ष नेपालले भने ।

तर यसका लागि सांसदहरुको भूमिका प्रभावकारी हुन नसकेको उनको गुनासो थियो । ’सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनोन्याश्रित छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७