भुईंमा लत्रेको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु


१८ असार २०८०, सोमबार
death
सांकेतिक तस्वीर

नवलपरासी । भुईंमा लत्रेको बिजुलीको तारले करेन्ट लाग्दा नवलपरासी पूर्वमा एक जनाको ज्यान गएको छ । मध्यविन्दु नगरपालिकामा आइतबार साँझ गोठालो गएर फर्किने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो गएर फर्किंदै गरेका स्थानीय ७४ बर्षीय मनवीर सोमैको आइतबार साँझ बिजुलीको तारमा परेर मृत्यु भएको हो । मध्यविन्दु नगरपालिकाको वडा नम्बर १३ र १४ को सीमानामा पर्ने गोरेभन्ज्याङमा भुईंमा लत्रिएको तारमा परेका सोमैको घटनास्थामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण कावासोतीका प्रमुख अमितकुमार कर्णले भित्री बाटोमा तार चुँडेका कारण दुर्घटना भएको दाबी गरे । ‘त्यति मान्छे नहिँड्ने भित्री बाटोमा तार चुँडेको थियो । आइतबार नै त्यहाँ करेन्ट छोडिएको थियो । त्यतिबेलै करेन्ट प्रवाह भएको तार चुँडेको रहेछ कसैले जानकारी गराएनन्,’ उनले भने । प्राधिकरणको नियमअनुसार करेन्ट लागेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७